लफडा र झगडाको संसद : नियमावली समितिको प्रतिवेदन लफडाबीच पारित !

लफडा र झगडाको संसद : नियमावली समितिको प्रतिवेदन लफडाबीच पारित !

काठमाडौं : आइतबार राति प्रतिनिधिसभा बैठकमा हंगामा, रोष्ट्रम कब्जा गर्ने प्रयास र सांसदहरूबीचको धक्कामुक्कीबीच सभामुख डीपी अर्यालले प्रतिनिधिसभा नियमावली मस्यौदा समितिको प्रतिवेदन पारित भएको घोषणा गरेका छन् ।

यो घटनाले नेपाली संसदको गरिमामाथि ठूलो प्रश्न खडा गरेको छ ।
मस्यौदा समितिका संयोजक गणेश पराजुलीले प्रतिवेदन निर्णयार्थ प्रस्तुत गरिरहँदा प्रतिपक्षी सांसदहरूले रोष्ट्रम घेर्ने प्रयास गरे । एमाले सांसद ऐन महर ले अरू सांसदहरूको जिउमाथि चढेर रोष्ट्रमतर्फ लम्किने दृश्यले संसदीय मर्यादा पूरै ध्वस्त भएको देखियो । मर्यादापालकहरूले उनलाई रोक्ने प्रयास गर्दा बैठकको वातावरण अझ तनावपूर्ण बनेको थियो ।

सभामुख अर्यालले हंगामाबीच पनि प्रतिवेदन पारित भएको घोषणा गरेपछि बैठक १५ मिनेटका लागि स्थगित गरे ।

संसदको यो लज्जास्पद दृश्य
यो घटना सामान्य संसदीय बहस होइन, यो संसदीय प्रक्रियामाथिको स्पष्ट हमला थियो । प्रतिपक्षी दलहरूले आफ्नो असन्तुष्टि राख्नु स्वाभाविक हो, तर रोष्ट्रम कब्जा गर्न खोज्ने, सांसदहरूको जिउमाथि चढ्ने जस्ता व्यवहारले लोकतन्त्रको मर्ममाथि प्रहार गरेको छ ।

आजको घटनाले फेरि एक पटक देखाएको छ कि नेपाली संसदमा संवाद र बहसको संस्कृति भन्दा हंगामा र शक्ति प्रदर्शन हावी हुँदै गएको छ ।
यो लफडापछि सत्तापक्ष र प्रतिपक्षबीचको द्वन्द्व झन् चर्किने देखिन्छ । संसदीय नियमावली जस्तो महत्वपूर्ण विषयलाई समेत यस्तो अशोभनीय तरिकाले पारित गर्नुपर्ने अवस्था आउनु आफैंमा दुखद् हो ।