काठमाडौः जीवन भोगाईका विभिन्न भाव बोलेको गीत ‘निको भएन नि’ सार्वजनिक भएको छ । रामेश्वर के.सी.द्धारा लिखित, बबिना भट्टराईको स्वर तथा संगीत रहेको गीत ‘निको भएन नि’ बबिना भट्टराईको अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो । ड्रिम्स स्टुडियोमा रेकर्ड गरिएको गीत ‘निको भएन नि’ को एरेन्ज विनोद कुमार भुजेलले गरेका हुन् भने मिक्सिङ तथा मास्टरिङ प्रकाश के.सी.ले गरेका हुन् । भिडियो निर्देशन केशव भट्टले गरेका छन् भने सम्पादन मीन रावलको रहेको छ ।
निको भएन नि अझै घाउ कुनै पनि उपचारबाट
बरु उल्टै ठगिएछु नाफा असुल्ने बजारबाट …
मानिसको जीवन केवल सुख र सफलताले मात्र बनेको हुँदैन, यो जीवनमा पीडा, धोका, संघर्ष र निराशाका अनेक अध्यायहरू पनि जोडिएका हुन्छन् । रामेश्वर के.सी.का शब्दहरुले यस्तै एउटा गहिरो मानवीय अनुभूतिलाई अभिव्यक्त गरेको छ । बाहिरी रूपमा यी शब्दहरू घाउ र उपचारको कुरा जस्तो देखिए पनि यसको भित्री भाव केवल शारीरिक पीडामा सीमित छैन । गीतको यो घाउ मनमा लागेको चोट, विश्वासमाथिको आघात, सम्बन्धबाट प्राप्त पीडा र जीवनका असफलताले सिर्जना गरेको गहिरो दुःख हो । गीत ‘निको भएन नि’ ले प्रेम या जीवनमा धोखा पाएर मानसिक रुपमा गहिरो पीडा भोगेको व्यक्तिको असहाय अवस्थालाई चित्रण गरेको छ । उसले आफ्नो दुःख भुल्न, पीडा कम गर्न वा जीवनलाई सामान्य बनाउन धेरै उपायहरू अपनायो होला, कसैसँग आफ्नो वेदना बाँड्यो होला, समयलाई औषधि ठानेर पर्खियो पनि होला, उसले जाने बुझे सम्मको विभिन्न उपाय र सहाराहरू पनि खोज्यो होला तर पनि उसको मनको घाउ निको हुन सकेन । केही चोट यस्ता हुन्छन् जसलाई समयले पनि मेटाउन सक्दैन उल्टो बल्झाउने गर्दछ । मनमा बसेको पीडा शरीरको घाउभन्दा धेरै गहिरो र दीर्घकालीन हुन्छ ।

गीत ‘निको भएन नि’ ले आजको स्वार्थी समाजप्रति पनि तीव्र व्यंग्य गरेको छ । जब मानिस दुःखमा हुन्छ, ऊ सहारा र सान्त्वनाको खोजी गर्छ तर संसारका केही व्यक्ति वा संस्थाहरूले त्यसै दुःखलाई अवसर बनाएर आफ्नो स्वार्थ पूरा गर्ने गर्छन् । ‘नाफा असुल्ने बजार’ भनेको केवल व्यापारिक बजार होइन; यो स्वार्थ, बनावटीपन, अवसरवाद र मानवीय संवेदनाको व्यापार गर्ने समाजको प्रतीक हो । पीडामा परेको व्यक्तिले सहयोगको अपेक्षा गर्यो तर सहयोगको नाममा झन् शोषित, ठगिएको र निराश बन्यो । जसलाई औषधि ठानेको थियो त्यही कुरा पीडाको अर्को कारण बनिदियो । गीत ‘निको भएन नि’ मार्फत गीतकार रामेश्वर के.सी.ले जीवनमा भोगिएको गहिरो मानसिक पीडा, उपचारको खोजीमा भएको निराशा र स्वार्थी संसारबाट प्राप्त धोका तथा शोषणको मार्मिक चित्रण गरेका छन् । यसले मानिसको संवेदनशील मनको त्यो अवस्थालाई उजागर गर्छ जहाँ ऊ केवल घाउको पीडाले मात्र होइन घाउ निको पार्ने आशामा गरिएका प्रयासहरूबाट समेत आहत बनेको हुन्छ । त्यसैले यी हरफहरू रामेश्वर के.सी. का केवल व्यक्तिगत वेदनाको अभिव्यक्ति मात्र नभई आजको स्वार्थप्रधान समाजप्रतिको गम्भीर प्रश्न र मानवीय संवेदनाको खोजी पनि हो ।
सम्वेदनामा खिया लागे पछि कस्को पो के लाग्छ
प्रष्ट हुँदैन फुटेको ऐनामा देखिने अनुहारबाट…
गीतकार रामेश्वर के.सी.का यी गीति हरफहरूले मानव जीवनको संवेदनशीलता, सम्बन्धको मूल्य र सत्य पहिचान गर्ने क्षमतामाथि गहिरो दार्शनिक दृष्टिकोण प्रस्तुत गरेका छन् । मानिसलाई मानिस बनाउने सबैभन्दा ठूलो गुण सम्वेदना हो । जब हृदयमा अरूको पीडा महसुस गर्ने क्षमता, प्रेम, करुणा र आत्मीयता जीवित रहन्छ, तब सम्बन्धहरू अर्थपूर्ण बन्छन् तर जब यही सम्वेदनामा “खिया” लाग्न थाल्छ, अर्थात् मानिस स्वार्थी, कठोर र भावनाशून्य बन्दै जान्छ तब उसले कसैको दुःख, खुसी वा अस्तित्वको मूल्य बुझ्न सक्दैन या बुझ्न चाहदैन । त्यस अवस्थामा उसको लागि अरूको पीडाले कुनै अर्थ राख्दैन । यही अवस्थालाई गीतकार रामेश्वर के.सी.ले गीतमा अत्यन्त मार्मिक ढंगले व्यक्त गरेका छन् । सामान्य बुझाईमा खिया लाग्नु भनेको विशेष गरि कुनै फलामको धातुको मौलिक चमक र गुण नष्ट हुनु हो । त्यसैगरी मानिसको हृदयमा स्वार्थ, अहंकार, लोभ वा निराशाको तह जम्दै जाँदा सम्वेदनशीलता हराउन थाल्छ । जब मन कठोर बन्छ तब सम्बन्धहरू केवल औपचारिकतामा सीमित हुन्छन् । अरूको आँसु देखेर पनि मन नपग्लिने, कसैको पीडा सुनेर पनि चासो नदिने अवस्था सिर्जना हुन्छ । यस्तो अवस्थामा मानिस समाजको बीचमा भएर पनि भावनात्मक रूपमा एक्लो र टाढा बन्छ ।

‘फुटेको ऐना’ ले सत्य र यथार्थ बुझ्ने दृष्टिकोणको प्रतीकात्मक चित्रण गरेको छ । ऐना सामान्यतः वास्तविक अनुहार देखाउने माध्यम हो तर यदि ऐना फुटेको छ भने त्यसमा देखिने प्रतिबिम्ब पनि टुक्राटुक्रा, विकृत र अस्पष्ट हुन्छ नै । त्यही प्रकारले जब हाम्रो सोच, दृष्टिकोण वा मनस्थिति विकृत हुन्छ तब हामीले अरूलाई सही रूपमा बुझ्न सक्दैनौं । पूर्वाग्रह, भ्रम, शंका र नकारात्मक सोचले भरिएको मन फुटेको ऐनाजस्तै हुन्छ, जसले वास्तविकता होइन, विकृत चित्र मात्र देखाउँछ । रामेश्वर के.सी. को गीत ‘निको भएन नि’ मा एउटा गहन सन्देश प्रकट हुन्छ । सम्वेदना हराएको मन र विकृत दृष्टिकोण भएको चेतनाले न त सम्बन्धको मूल्य बुझ्न सक्छ न त मानिसको वास्तविक अनुहार चिन्न सक्छ । जसरी फुटेको ऐनाले वास्तविक रूप देखाउन सक्दैन, त्यसरी नै सम्वेदनाहीन हृदयले मानिसको वास्तविक भावना, पीडा र सद्भावना बुझ्न सक्दै सक्दैन ।
अन्ततः, यी हरफहरूले मानव जीवनमा सम्वेदनशीलता र सकारात्मक दृष्टिकोणको अपरिहार्यता दर्शाउँछन् । हृदयमा करुणा र मनमा स्पष्टता भए मात्र हामी अरूलाई सही रूपमा बुझ्न, सम्बन्धलाई जोगाउन र जीवनको वास्तविक सौन्दर्य अनुभव गर्न सक्षम हुन्छौं। सम्वेदनामा खिया लाग्न नदिनु र फुटेको ऐनाजस्तो दृष्टिकोणलाई सुधार्नु नै यस गीतको मूल सन्देश हो ।

निर्दयताले पराकाष्टा नाघ्यो अति भो अब त
केवल धोकै धोका मात्र यहाँ हजारबाट…
गीतकार रामेश्वर के.सी.का गीतका यी हरफहरुले जीवनप्रतिको गहिरो निराशा, मानवीय सम्बन्धप्रतिको मोहभंग र समाजमा बढ्दो स्वार्थप्रतिको पीडादायी अनुभूति व्यक्त गरेको छ । उनले यहाँ आफूले भोगेका कटु अनुभवहरूलाई अत्यन्त मार्मिक ढंगले प्रस्तुत गरेका छन् । गीतले मानिसहरूमा रहेको संवेदनशीलता र मानवीयताको ह्रासप्रति गुनासो व्यक्त गर्छ । जब निर्दयता आफ्नो सीमा नाघ्छ तब मानिसले सहन सक्ने धैर्य पनि समाप्त हुन थाल्छ । गीतकार रामेश्वर के.सी.को अनुभूति अनुसार संसारमा करुणा, माया र सहानुभूतिभन्दा कठोरता, बेवास्ता र स्वार्थ हाबी हुँदै गएको छ । यसले गर्दा उनी मानसिक रूपमा थकित र निराश बनेका छन् ।
धोखा एक जनाबाट होइन ‘हजार’ बाट पाएका छन् । ‘हजार’ संख्या होइन विम्व हो, जीवनमा जोडिएका, भेटिएका सबैमा विश्वासको संकट रहेको छ । जीवनमा धेरै मानिससँग सम्बन्ध गाँस्दा, हजारौँ व्यक्तिमध्ये पनि साँचो साथ दिने भन्दा धोका दिनेहरूको संख्या बढी देखिएको अनुभूति यहाँ व्यक्त भएको छ । आफूले विश्वास गरेका, आफ्ना ठानेका वा साथ दिने आशा गरेका व्यक्तिहरूबाट पटक,पटक चोट पाउँदा मानिसको मनमा सम्बन्धहरूप्रति नै अविश्वास पैदा हुन्छ । यही पीडाले गीतकार रामेश्वर के.सी.को मनमा संसारभरि धोका नै धोका छ भन्ने निष्कर्ष जन्माएको छ ।

गीत ‘निको भएन नि’ मार्फत गीतकार रामेश्वर के.सी.ले मानवीय सम्बन्धमा आएको स्वार्थ, विश्वासघात र संवेदनहीन व्यवहारका कारण सिर्जिएको गहिरो मानसिक पीडालाई अभिव्यक्त गरेका छन् । यो केवल गीतकार रामेश्वर के.सी.को दुःख मात्र होइन, आजको समाजमा धेरै मानिसले भोगिरहेको यथार्थ पनि हो जहाँ साँचो माया, निष्ठा र विश्वास खोज्न कठिन हुँदै गएको छ । आफ्नो कलमबाट गीतकार रामेश्वर के.सी.ले आक्रोश, निराशा र पीडा यी गीतमा अत्यन्त प्रभावशाली ढंगले प्रकट गरेका छन् ।
रामेश्वर के.सी.को गीत ‘निको भएन नि’ मा जीवनका विविध अनुभूति, प्रेम, विछोड, आत्मीयता र मानवीय संवेदनाको गहिरो चित्रण भएको छ, उनका यी शब्दहरूलाई गायिका तथा संगीतकार बबिना भट्टराईले आफ्नो सुमधुर स्वर, संगीत र अभिनयमार्फत जीवन्त बनाएकी छिन् । एउटा गीत केवल शब्दमा सीमित हुँदैन, त्यसलाई श्रोताको मनसम्म पुर्याउने काम संगीत, स्वर र अभिव्यक्तिले गर्छ जुन जिम्मेवारी बबिना भट्टराईले अत्यन्त प्रभावकारी रूपमा निर्वाह गरेकी छन् ।

गीत ‘निको भएन नि’ रामेश्वर के.सी.को एकल शब्द तथा बबिना भट्टराईको एकल स्वर तथा संगीत रहेको एल्बम ‘आरम्भ’ भित्रका पाँच वटा गीत मध्ये को एक हो, एल्वम ‘आरम्भ’ मा ‘बन्द गर्यौ’, ‘बानी रहेछ’, ‘किन चलाउँछौ’, ‘नजर नजर’ र ‘निको भएन नि’ बोलका गीतहरू समावेश रहेका छन् ।
गीत ‘निको भएन नि’ भिडियो हेर्नुहोस् !
https://www.youtube.com/watch?v=4vJ8xMsshIk