‘नेपालले भारतको भूमि मिच्यो’ बालेनको अभिव्यक्तिले राष्ट्रियतामाथि प्रहार : हर्क साम्पाङ

‘नेपालले भारतको भूमि मिच्यो’ बालेनको अभिव्यक्तिले राष्ट्रियतामाथि प्रहार : हर्क साम्पाङ

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले प्रतिनिधिसभामा दिएको अभिव्यक्तिले नेपालको सीमा सुरक्षा र भौगोलिक अखण्डतामाथि गम्भीर प्रश्न खडा गरेको छ। श्रम संस्कृति पार्टीले यसलाई ‘राष्ट्रघाती’ भन्दै कडा विरोध जनाएको छ।

प्रधानमन्त्री शाहले आइतबार सदनमा बोल्दै भनेका थिए, “मैले प्रधानमन्त्री भएपछि मात्र थाहा पाएँ — भारतले नेपालको मात्र होइन, नेपालले पनि भारतको जग्गा धेरै ठाउँमा मिचेको रहेछ।” उनले दुवै देशले अध्ययन गरी ‘साथी’ को रूपमा समस्या समाधान गर्ने बताएका थिए।

यो अभिव्यक्तिप्रति तीव्र असन्तुष्टि जनाउँदै श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (हर्क साम्पाङ) ले विज्ञप्ति जारी गर्दै भनेका छन् :

“रास्वपाको सभापति भारत जानुअघि भारतलाई रिझाउन प्रधानमन्त्री सदनमा उभिएर नेपालले भारतको भूमि धेरै ठाउँमा मिचेको छ भन्नु लिम्पियाधुरा, लिपुलेक र कालापानी फिर्ता गर्नुपर्ने जनताको मागलाई सामसुम पार्ने र नेपालले थप भूमि भारतलाई छोडिदिनुपर्ने राष्ट्रघाती बदनियत हो।”

पार्टीले प्रधानमन्त्रीको यो भनाइले अन्तर्राष्ट्रिय जगतमा नेपालको छविलाई कमजोर बनाएको र सीमा विवादमा नेपालको अडानलाई ध्वस्त पार्ने प्रयास गरेको ठहर गरेको छ।

सरकारको दोहोरो चरित्रको आरोप

विज्ञप्तिमा पार्टीले भनेको छ – नेपाली सेनालाई मन्त्रीको गाडीको ढोका खोल्न र सुकुम्बासी बस्तीमा हमला गर्नमा सीमित राख्ने तर सीमामा सेना नपठाउने सरकारले प्रधानमन्त्रीको मुखबाट ‘नेपालले भारतको भूमि मिचेको’ भन्नुले उसको सीमा रक्षा र भौगोलिक अखण्डताप्रतिको प्रतिबद्धता शून्य रहेको प्रमाणित गरेको छ।

पार्टीले पूर्व तालिका बिना नै प्रतिनिधिसभाको बैठक बोलाएर प्रधानमन्त्रीलाई यस्तो अभिव्यक्ति दिने मौका दिइएकोमा पनि आपत्ति जनाएको छ।

मुख्य माग

श्रम संस्कृति पार्टीले प्रधानमन्त्री बालेनबाट तत्काल यस्तो अभिव्यक्ति फिर्ता लिन र लिम्पियाधुरा, लिपुलेक लगायत नेपालको ऐतिहासिक भूमि फिर्ता ल्याउने कूटनीतिक पहल गर्न माग गरेको छ।

यो घटनाले सत्तारुढ दलभित्रै सीमा राष्ट्रियताको मुद्दामा गम्भीर मतभेद देखिएको संकेत गरेको छ। जनताले अब प्रधानमन्त्री बालेनको आगामी कदमलाई निकै चासोका साथ हेर्ने छन्।