ललितपुर: विश्वकै अग्रणी सामाजिक तथा मानवीय सेवामूलक संस्था रोटरी इन्टरनेसनलअन्तर्गत नवगठित रोटरी क्लब अफ नेपाल मण्डल ले स्थापना भएको पहिलो दिनमै ऐतिहासिक उपलब्धि हासिल गरेको छ। क्लबले आफ्नो पदस्थापन तथा चार्टर हस्तान्तरण समारोहकै अवसरमा सबै सदस्यको शतप्रतिशत सहभागितासहित ‘द रोटरी फाउन्डेसन’ को वार्षिक कोषमा योगदान गर्दै ‘रोटरी डिस्ट्रिक्ट ३२९२’ कै पहिलो “रोटरी फाउन्डेसन सस्टेनेबल मेम्बर क्लब” बन्न सफल भएको हो।
वि.सं. २०८३ असार १० गते (२४ जुन २०२६) रोटरी इन्टरनेसनलमा विधिवत् चार्टर्ड भएको यस क्लबले संस्थापक अध्यक्ष रोटेरियन देवेन्द्रलाल श्रेष्ठ को नेतृत्वमा २२ जना चार्टर सदस्यसहित आफ्नो यात्रा प्रारम्भ गरेको थियो। स्थापना भएको केही समयमै क्लबले केवल सामाजिक सेवाको प्रतिबद्धता मात्र होइन, रोटरीको परोपकारी दर्शनप्रतिको आफ्नो अटल आस्था पनि व्यवहारमै प्रमाणित गरेको छ।
क्लबका २२ जना चार्टर सदस्यहरूले प्रतिव्यक्ति १०० अमेरिकी डलरका दरले कुल २,२०० अमेरिकी डलर ‘द रोटरी फाउन्डेसन’ को वार्षिक कोषमा योगदान गरेका छन्। यससँगै क्लबका सबै सदस्य ‘रोटरी फाउण्डेसन सस्टेटिङ मेम्वर ‘ बनेका छन् भने सम्पूर्ण क्लबले नै “रोटरी फाउण्डेसन सस्टेनेवल मेम्वर क्लव ” को मान्यता प्राप्त गरेको हो।
रोटरी डिस्ट्रिक्ट ३२९२ को इतिहासमा यसरी स्थापना भएकै दिन शतप्रतिशत सदस्य सहभागितासहित उक्त मान्यता प्राप्त गर्ने यो पहिलो क्लब बनेको क्लबका अध्यक्ष रोटेरियन उत्तम बाबु भट्टराई ले जानकारी दिए। उनका अनुसार यो योगदान केवल आर्थिक सहयोग मात्र नभई रोटरीको मूल भावना “Service Above Self” अर्थात् “आफूभन्दा माथि सेवा” को जीवन्त अभ्यास हो। क्लबले आफ्नो पहिलो कदम नै मानवताको सेवाप्रति समर्पित गर्दै सुरु गरेको उनले बताए। यो योगदान रोटरी इन्टरनेसनलको विश्वव्यापी “Every Rotarian, Every Year” अभियानअन्तर्गत गरिएको हो। उक्त अभियानले प्रत्येक रोटेरियनलाई प्रत्येक वर्ष कम्तीमा १०० अमेरिकी डलर द रोटरी फाउन्डेसनको वार्षिक कोषमा योगदान गर्न प्रेरित गर्दै विश्वभर सञ्चालन हुने मानवीय परियोजनाहरूलाई दिगो आर्थिक आधार प्रदान गर्ने लक्ष्य राखेको छ।

द रोटरी फाउन्डेसनमार्फत सङ्कलित रकम विश्वभर सञ्चालन हुने विभिन्न मानवीय तथा विकासमुखी परियोजनामा प्रयोग गरिन्छ। यसअन्तर्गत शान्ति स्थापना तथा द्वन्द्व समाधान, रोग रोकथाम तथा उपचार, स्वच्छ खानेपानी र सरसफाइ, आमा तथा शिशु स्वास्थ्य, आधारभूत शिक्षा तथा साक्षरता, स्थानीय अर्थतन्त्रको विकास तथा वातावरण संरक्षण जस्ता रोटरीका सात प्रमुख प्राथमिकताका क्षेत्रमा कार्यक्रम सञ्चालन हुँदै आएका छन्। क्लबका सदस्यहरूले गरेको यो योगदानले नेपालसहित विश्वका विभिन्न समुदायमा सञ्चालन हुने यस्ता परियोजनालाई प्रत्यक्ष सहयोग पुग्ने विश्वास गरिएको छ। पदस्थापन तथा चार्टर हस्तान्तरण समारोहका अवसरमा क्लबका अध्यक्ष रोटेरियन उत्तम बाबु भट्टराई तथा सम्पूर्ण चार्टर सदस्यहरूको तर्फबाट उक्त योगदानलाई “Token of Love” (प्रेमको प्रतीक) का रूपमा **रोटरी डिस्ट्रिक्ट ३२९२ का डिस्ट्रिक्ट गभर्नर रोटेरियन विष्णुबहादुर कार्की लाई औपचारिक रूपमा हस्तान्तरण गरिएको थियो।
कार्यक्रममा उपस्थित रोटरीका उच्च पदाधिकारी तथा अतिथिहरूले क्लबले स्थापना भएकै दिन देखाएको परोपकारी भावना र एकताप्रतिको प्रतिबद्धताको उच्च प्रशंसा गरेका थिए। डिस्ट्रिक्ट नेतृत्वले रोटरी क्लब अफ नेपाल मण्डलले कायम गरेको यो कीर्तिमानले डिस्ट्रिक्ट ३२९२ का अन्य क्लबहरूलाई पनि द रोटरी फाउन्डेसनप्रति थप सक्रिय र उत्तरदायी बन्न प्रेरित गर्ने विश्वास व्यक्त गरेको छ। उनीहरूले यसलाई केवल एउटा आर्थिक योगदानका रूपमा नभई रोटरीको मानवीय अभियानलाई बलियो बनाउने दूरदर्शी सुरुवातका रूपमा व्याख्या गरेका छन्।
स्थापनाको पहिलो दिनमै प्राप्त यो उपलब्धिले रोटरी क्लब अफ नेपाल मण्डललाई केवल नयाँ क्लबका रूपमा मात्र होइन, परोपकार, उत्तरदायित्व, एकता र दिगो सेवाको नयाँ मापदण्ड स्थापित गर्ने क्लब’ का रूपमा समेत परिचित गराएको छ। क्लबले आगामी दिनमा पनि द रोटरी फाउन्डेसनमार्फत विश्वव्यापी मानवीय अभियानलाई निरन्तर सहयोग गर्दै स्थानीय समुदायमा शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण र सामाजिक रूपान्तरणका क्षेत्रमा प्रभावकारी परियोजना सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।