काठमाडौँ : नवरात्रको सातौँ दिन आज देशभरका दसैँ घर र पूजा कोठाहरूमा नौ दुर्गामध्येकी कालरात्रि देवीको विधिपूर्वक आराधना गरिँदै छ। सँगसँगै अपराह्न कालमा फूलपाती भित्र्याउने वैदिक परम्परा पनि पूरा हुँदै छ।
आश्विन शुक्ल सप्तमीका दिन पूजिने कालरात्रि देवीलाई काल (समय) लाई पनि नष्ट गर्ने शक्तिसम्पन्न देवीका रूपमा मानिन्छ। प्राणीमात्रलाई कालले नष्ट गर्छ, तर त्यही काललाई भगवतीले नष्ट गरिदिन्छिन् भन्ने धार्मिक विश्वास छ। विभिन्न पुराणमा कालरात्रि कृष्ण वर्णकी र भयङ्कर आकृति भएकी देवीका रूपमा वर्णन गरिएको छ।
यस वर्षको नवरात्र असोज १५ गते आइतबार घटस्थापनासँगै सुरु भएको थियो। त्यसदिन दसैँ घरमा जौँको जमरा राखेर शैलपुत्री देवीको आह्वान गरिएको थियो। त्यसपछि क्रमशः दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौँ दिन स्कन्दमाता र छैटौँ दिन कात्यायनी देवीको पूजा सम्पन्न भयो। आज सातौँ दिन कालरात्रिको पालो आएको छ। बाँकी दुई दिनमा महागौरी र सिद्धिदात्रीको आराधना हुनेछ।
नवरात्रभर घटस्थापना गरिएको स्थानमा दुर्गा सप्तशती (चण्डी), श्रीमद्देवीभागवत लगायत देवी स्तोत्रहरूको पाठ गरिन्छ। नौ दिनसम्म निरन्तर आराधना गरेको प्रसाद विजयादशमीदेखि कोजाग्रत पूर्णिमासम्म लगाइन्छ। यसरी लगभग १५ दिनसम्म नेपालीले बडादसैँ पर्व मनाउँछन्। देवीको विशेष आराधनाले शक्ति, ऐश्वर्य र विद्या प्राप्त हुने धार्मिक विश्वास छ।
आज अपराह्न कालमा फूलपाती भित्र्याउने विधि छ। देशभरका शक्तिपीठहरूमा भक्तजनको भीड लाग्ने गरेको छ। नवदुर्गाको यो सातौँ स्वरूपको आराधनासँगै दसैँको उत्सव थप रङ्गीन र भक्तिमय बन्दै गएको छ।