काठमाडौं : आज विजया दशमी। नेपालीहरूको महान् पर्व बडादशैंको सबैभन्दा मुख्य दिन। घरघरमा देवीको प्रसादका रूपमा टीका, जमरा र आशीर्वाद बाँडिँदै छ। परिवारका सदस्यहरू एकै ठाउँमा भेला भएर मान्यजनको हातबाट टीका थाप्दै छन्।नेपाल पञ्चांग निर्णायक विकास समितिका अनुसार यस वर्ष दशैंको टीकाको उत्तम साइत बिहान १० बजेर २६ मिनेटमा रहेको छ। समितिले देवी विसर्जनको साइत बिहान ८ बजेर ४९ मिनेटमा निर्धारण गरेको छ।
समितिका अध्यक्ष सहप्राध्यापक डा. पुरुषोत्तम भट्टराईका अनुसार दिनभर टीका लगाउन सकिने भए पनि साइतमै टीका लगाउन चाहनेहरूका लागि बिहान १०:२६ बजेको समय तोकिएको हो।साइतमा टीका लगाउँदा विशेष ध्यान दिनुपर्ने नियम छ।
टीका लगाइदिने मान्यजन पूर्वतर्फ र टीका थाप्ने व्यक्ति पश्चिमतर्फ फर्कनुपर्छ। यो परम्परा दशैंको धार्मिक र सांस्कृतिक महत्त्वसँग जोडिएको छ।दशैंमा नवदुर्गा भवानीको पूजा–आराधना गरी देवीको प्रसादका रूपमा टीका र जमरा ग्रहण गर्ने परम्परा शताब्दीऔंदेखि चल्दै आएको छ। यस अवसरमा परिवारका सदस्य तथा आफन्तजन एकै ठाउँमा भेला भई मान्यजनबाट आशीर्वाद लिने गर्छन्। रोजगारी, अध्ययन वा विभिन्न पेसा–व्यवसायका सिलसिलामा घरबाट टाढा रहेका नेपालीहरूसमेत यस पर्वमा आफ्नो थातथलो फर्कने भएकाले दशैंले पारिवारिक पुनर्मिलनको अमूल्य अवसर प्रदान गर्छ।
नेपालमा राष्ट्रिय चाडका रूपमा मनाइने बडादशैंको मुख्य दिन आज मात्र टीका, जमरा र आशीर्वाद ग्रहण गरिन्छ। कतिपय स्थानमा भने कोजाग्रत पूर्णिमासम्मै मान्यजनबाट टीका र आशीर्वाद थाप्ने चलन अझै जीवित छ।आजको बिहान १०:२६ बजेको साइतसँगै लाखौं नेपाली घरपरिवारमा देवीको आशीर्वाद बाँड्दै छन्। टीकाको रातो रंग, जमराको हरियो र मान्यजनको शुभकामनाले दशैंको उत्सवलाई पूर्णता दिइरहेको छ।