काठमाडौं : गोकर्णेश्वर मन्दिरको प्राङ्गणमा चलिरहेको चतुर्मास सत्सङ्ग एवं स्कन्द पुराण तीर्थ–प्रचार ज्ञान महायज्ञमा एउटा नयाँ इतिहास बनेको छ। नेपालमा पहिलोपटक मैथिली भाषामा रामायण र महाभारत लेखेकी अर्चना झा नेपाली र मैथिली दुवै भाषामा कथावाचिकाका रूपमा व्यासपीठमा बसेर धर्मसम्बन्धी कथा सुनाइन्।
मिथिला क्षेत्रकी बहुप्रतिभाशाली नारी अर्चना झा यसअघि समाजसेवी, वरिष्ठ पत्रकार, साहित्यकार र लेखिकाका रूपमा देश–विदेशमा चिनिइसकेकी छन्। उनले ‘अर्चनाकृत रामायण’ र ‘अर्चनाकृत सम्पूर्ण महाभारत’ जस्ता ग्रन्थमार्फत धार्मिक तथा सांस्कृतिक विषयलाई मैथिली गद्यमा प्रस्तुत गर्दै आएकी छन्। त्यही लेखिकाले अहिले राजधानीको व्यासपीठबाट आफ्नो आवाज सुनाएकी छन्।
महायज्ञका संकल्पकर्ता दीपकिशोर भट्टराई गुरुले भने, “देश–विदेशका विभिन्न विद्याका वरिष्ठ कथावाचकहरूले यस व्यासपीठबाट कथा सुनाउँदै आएका छन्। तर नेपालमा मैथिली भाषामा रामायण र महाभारत लेख्ने अर्चना झाबाट मैथिली भाषामै कथावाचन सुन्ने अवसर पहिलोपटक प्राप्त भयो।” उनले अर्चनाको कथावाचन नेपाली र मैथिली दुवै भाषामा रोचक, अध्ययनशील र ज्ञानवर्धक रहेको बताए। यसले कथा सुन्न आएका भक्तजनलाई प्रेरणा दिएको उनको भनाइ छ।
गुरु भट्टराईका अनुसार नेपालमा बोलिने प्रमुख भाषामध्ये मैथिली भाषामा लेखिका झाको मुखबाट धार्मिक कथा सुन्न पाउनु खुसी र गौरवको विषय हो। मिथिला क्षेत्रकी महिलाले राजधानीमा मैथिली भाषामा धार्मिक कथावाचन गर्दै कथावाचिकाका रूपमा पहिचान स्थापित गर्नु मैथिली भाषा, मिथिला क्षेत्र र समग्र नेपाली साहित्य–संस्कृतिका लागि महत्वपूर्ण उपलब्धि भएको उनले बताए।
महायज्ञमा सहभागी भक्तजनले पनि अर्चनाको कथावाचन उत्साहपूर्वक सुने। विभिन्न वरिष्ठ गुरु तथा सन्तहरूबाट प्रवचन, भजन र कीर्तन भइरहेको यस महायज्ञको मुख्य उद्देश्य ओझेलमा परेका तीर्थस्थलहरूको प्रचार–प्रसार गर्नु, मन्दिरको विकासमा सहयोग पुर्याउनु र अक्षय कोष निर्माणमा सहयोग गर्नु रहेको संकल्पकर्ताले जानकारी दिए।
गोकर्णेश्वर मन्दिर प्राङ्गणमा २०८३ साउन ९ गतेदेखि मंसिर ८ गतेसम्म चलिरहेको यस महायज्ञमा अर्चना झाको उपस्थितिले मैथिली भाषा र मिथिलाको सांस्कृतिक पहिचानलाई थप उचाइ दिएको छ। रामायण र महाभारतलाई मैथिलीमा लेख्ने उनको योगदान अब कथावाचनमार्फत राजधानीको मञ्चमा पनि गुञ्जिएको छ।