एनपिएल आजदेखि: फाइनलको पुनरावृत्तिसँगै विश्वस्तरीय खेलाडी र प्रविधिको प्रवेश

एनपिएल आजदेखि: फाइनलको पुनरावृत्तिसँगै विश्वस्तरीय खेलाडी र प्रविधिको प्रवेश

काठमाडौं : नेपाली क्रिकेटको महापर्व नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करण आजबाट औपचारिक रूपमा सुरु हुँदैछ। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा अपराह्न साढे ४ बजे हुने उद्घाटन खेलमा अघिल्लो सिजनका फाइनलिस्ट लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स आमनेसामने हुँदैछन्।रोहितकुमार पौडेलको कप्तानीमा रहेको लुम्बिनी र दीपेन्द्रसिंह ऐरी नेतृत्वको सुदूरपश्चिमबीचको यो भिडन्त गत वर्षको फाइनलको पुनरावृत्ति हो।

त्यतिबेला लुम्बिनीले सुदूरपश्चिमलाई हराउँदै उपाधि जितेको थियो। यसपटक लुम्बिनी सुखद सुरूवात चाहन्छ भने सुदूरपश्चिमले हारको बदला लिन खोज्दैछ।तर यो सिजन केवल दुई टोलीको प्रतिशोधको कथा होइन। यसपालिको एनपिएललाई अन्तर्राष्ट्रिय स्तरको बनाउने तीन मुख्य आधार स्तम्भ छन्—विश्वस्तरीय खेलाडीको आगमन, आइसिसीको आधिकारिक मान्यता र पहिलोपटक डिसिजन रिभ्यू सिस्टम (डिआरएस) को प्रयोग।

आइपिएल छाप नेपाली मैदानमा

डेभिड वार्नर (काठमाडौं गोर्खाज), आन्द्रे रसेल (विराटनगर किङ्स), डेभिड मिलर (कर्णाली याक्स) र शाकिब अल हसन (पोखरा एभेन्जर्स) जस्ता नामहरूले प्रतियोगितालाई विश्वव्यापी आकर्षण दिएका छन्। यी खेलाडीसँगै मोइन अली, जिमी निसम, एन्जेलो म्याथ्युज, सिकन्दर राजा र शेरफेन रदरफोर्डजस्ता अनुभवी विदेशी खेलाडी पनि मैदानमा उत्रनेछन्।अघिल्ला संस्करणमा शिखर धवन र फाफ डु प्लेसिसले चर्चा बढाएका थिए। यसपटक भने वार्नर, रसेल, मिलर र शाकिबजस्ता खेलाडीको उपस्थितिले एनपिएललाई साँच्चिकै अन्तर्राष्ट्रिय पहिचान दिने अपेक्षा गरिएको छ।

आइसिसी मान्यता: तथ्यांक अब आधिकारिक

तेस्रो संस्करणको सबैभन्दा ठूलो उपलब्धि हो-अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) को आधिकारिक मान्यता। अब यस प्रतियोगितामा बनेका रन, लिएका विकेट र खेलेका खेल खेलाडीको आधिकारिक टी–२० करियर तथ्यांकमा गणना हुनेछन्। अघिल्ला दुई संस्करणका प्रदर्शन आधिकारिक तथ्यांकमा समावेश भएका थिएनन्।यसले विदेशी खेलाडी अनुबन्धमा सहजता ल्याएको छ। प्रत्येक टोलीले ६ देखि ८ जनासम्म विदेशी खेलाडी राख्न सक्नेछन् तर प्लेइङ–११ मा बढीमा चारजना मात्र। साथै एसोसिएट सदस्य राष्ट्रका कम्तीमा एक खेलाडी अनिवार्य रूपमा प्लेइङ–११ मा राख्नुपर्ने व्यवस्था छ।

डिआरएसले थप्नेछ रोमाञ्च

पहिलोपटक डिआरएस प्रयोग हुनेछ। थ्रीडी बल ट्र्याकिङ, एआई आधारित एज डिटेक्सन र ध्वनि विश्लेषण प्रविधि प्रयोग गरिनेछ। प्रत्येक टोलीले एक इनिङ्समा दुईवटा असफल रिभ्यु लिन पाउनेछन्। यसका लागि करिब डेढदेखि दुई करोड रुपैयाँ खर्च हुनेछ, जुन क्यान र आठ फ्रेन्चाइजले साझेदारी गर्नेछन्।डिआरएसका कारण खेलको अवधि बढ्न सक्ने भएकाले तालिका परिवर्तन गरिएको छ। डबल हेडरका दिन पहिलो खेल दिउँसो १२:३० बजे र दोस्रो खेल साँझ ५ बजे सुरु हुनेछ।

थप आकर्षण र सुविधा

पाकिस्तानका पूर्व तीव्र गतिका बलर शोएब अख्तर ‘रेड बुल क्रिकेट लाइभ’ कार्यक्रममा विशेष अतिथिका रूपमा सहभागी हुनेछन्। कीर्तिपुर मैदानमा करिब दुई हजार थप सिट जडान गरिएको छ भने उद्घाटन खेलका सबै टिकट बिक्री भइसकेका छन्।आठ टोलीमध्ये शीर्ष चार प्लेअफमा पुग्नेछन्। सुदूरपश्चिम दुईपटक उपविजेता भइसकेको छ भने जनकपुर बोल्ट्स पहिलो संस्करणको च्याम्पियन हो। पोखरा एभेन्जर्स र कर्णाली याक्सले पनि आफ्नो प्रदर्शन सुधार्ने लक्ष्य राखेका छन्।

अवसर र चुनौती

वार्नर, रसेल, मिलर र शाकिबजस्ता खेलाडीसँग खेल्नु नेपाली क्रिकेटरका लागि ठूलो अवसर हो। उनीहरूको रणनीति, फिटनेस र दबाब व्यवस्थापनबाट सिक्ने मौका मिल्नेछ। आइसिसी मान्यतापछि नेपाली खेलाडीको प्रदर्शन आधिकारिक तथ्यांकमा जाने भएकाले व्यक्तिगत करियरका हिसाबले पनि यो सिजन महत्त्वपूर्ण छ।तर चर्चित विदेशी खेलाडीको उपस्थिति मात्र पर्याप्त छैन।

खेलको गुणस्तर, घरेलु खेलाडीलाई दिइने अवसर, व्यवस्थापनको निरन्तरता र दर्शकको सहभागिता नै प्रतियोगिताको दीर्घकालीन सफलताको आधार हुनेछ।एनपिएलको तेस्रो संस्करण नेपाली फ्रेन्चाइज क्रिकेटलाई अन्तर्राष्ट्रिय स्तरमा स्थापित गर्ने अर्को परीक्षा हो। आजको उद्घाटन खेलबाट सुरु हुने यो यात्रा कति प्रभावशाली हुन्छ, त्यो अब मैदानले नै बताउनेछ।