बुटवलको ऐतिहासिक जितगढीस्थित दुर्गा मन्दिरको प्राङ्गणमा पञ्चेबाजाको तालमा तरवार, खुँडा र ढाल घुम्दै जब दर्जनौं कलाकारहरू घुमेर नाच्न थाले, त्यहाँ केवल मनोरञ्जन थिएन—त्यहाँ सयौं वर्ष पुरानो विजयोत्सवको गन्ध थियो।
१३ औँ सरायँ नाच सम्पन्न हुँदा स्थानीयबासी, संस्कृतिप्रेमी र जनप्रतिनिधिहरूको भीडले प्राङ्गण भरिएको थियो। यो केवल एउटा कार्यक्रम थिएन, पहाडी मूलका बसाइँसराइँ गरेका समुदायले तराईमा जोगाएको मौलिक पहिचानको जीवन्त प्रमाण थियो।सरायँ नाचको उत्पत्ति अर्घाखाँचीसँग जोडिएको छ। नेपाली बृहत् शब्दकोशले नै अर्घाखाँचीलाई यसको व्युत्पत्तिस्थल मानेको छ।
इतिहासका जानकारहरूका अनुसार विसं १३८१ तिर दिल्लीबाट आएका राजा जिल्ला राईले अर्घा राज्य जितेपछि विजयोत्सवका रूपमा कोजाग्रत पूर्णिमाका दिन यो नाच सुरु गरेका थिए। त्यसपछि अर्घा, खाँचीकोट, गुल्मीका धुर्कोट, इस्मा, पूर्वी प्युठान र पश्चिम पाल्पाका विभिन्न कोट तथा शक्तिपीठमा यो परम्परा फैलियो। देवीले असुरमाथि विजय हासिल गरेको खुसीयाली र युद्धकलाको अभ्यास दुवै यसमा समाहित छन्। हतियार प्रदर्शन गर्दै नाचिने यो नाचले विगतका राज्यहरूबीचको लडाइँ, विजय र शक्तिपूजाको स्मरण गराउँछ।
बसाइँसराइसँगै यो संस्कृति तराई झ¥यो। अहिले बुटवल, काठमाडौं, लमही, बाणगंगा, गोरुसिङ्गे, पथ्थरकोट र घोराहीसम्म फैलिएको छ। जितगढीमा भने यसलाई व्यवस्थित रूपमा जोगाउने अभियान १३ वर्षअघि सुरु भएको थियो।
संस्थापक ऋषि आजाद भन्छन्, ‘बुटवलको जितगढीमा आयोजना हुँदै आएको सरायँ नाचले यस क्षेत्रको सांस्कृतिक परम्परालाई निरन्तरता दिएको छ।’ अध्यक्ष दिपक पन्थी थप्छन्, ‘परम्परागत संस्कृति जोगाउन र जितगढीको महिमालाई जोगाउन हामीले सरायँलाई निरन्तरता दिएका हौं।’यो वर्षको कार्यक्रममा पञ्चेबाजासहित स्थानीय र संस्कृतिप्रेमीहरूको सक्रिय सहभागिता रह्यो।
बुटवलका मेयर खेलराज पाण्डेय, उपप्रमुख साबित्रा देवी अर्याल र वडाध्यक्ष नारायण पुनलगायतले उपस्थिति जनाए। जितगढी आफैं ऐतिहासिक स्थल हो-अंग्रेजसँगको युद्धमा नेपाली फौजले विजय हासिल गरेको ठाउँ। त्यहीँ दुर्गा मन्दिरको प्राङ्गणमा सरायँ नाच्दा इतिहास र संस्कृति एकाकार भएको अनुभूति हुन्थ्यो।आजको युगमा जब युवा पुस्ता आधुनिक मनोरञ्जनतर्फ आकर्षित छन्, तब यस्ता कार्यक्रमले मौलिक संस्कृतिलाई बाँच्ने बल दिन्छ। सरायँ केवल नाच होइन-यो हतियारको ताल, विजयको गौरव र समुदायको एकताको प्रतीक हो।
जितगढीमा १३ वर्षदेखि निरन्तर चल्दै आएको यो प्रयासले देखाउँछ कि संस्कृति जोगाउन संस्थागत प्रतिबद्धता र जनसहभागिता दुवै आवश्यक छ।अर्घाखाँची, गुल्मीका कोटहरूमा अझै पूर्णिमासम्म सरायँको रौनक चल्छ। तराईमा भने जितगढीजस्ता थोरै ठाउँमा मात्र यो जीवन्त छ। यसलाई थप संरक्षण र प्रवर्द्धन गर्न सकिएन भने भविष्यमा यो केवल इतिहासको पानामा सीमित हुनसक्छ। जितगढीको यो १३ औँ संस्करणले एउटा कुरा स्पष्ट पारेको छ-संस्कृति जोगाउने काम कसैको एकल प्रयासले होइन, सामूहिक संकल्पले मात्र सम्भव छ।