काठमाडौं : राजनीतिमा सत्यमा रहनु मात्र पर्याप्त हुँदैन। सत्यमा रहँदा आउने मूल्य चुकाउन पनि तयार हुनुपर्छ। नेपाली कांग्रेसका पूर्वमहामन्त्री डा. शशांक कोइरालाले शनिबार यस्तो स्पष्ट सन्देश दिएका छन्।
देउवा समूहद्वारा गठित ‘१५औं महाधिवेशन आयोजक समिति’का संयोजक कोइरालाले काठमाडौं क्षेत्र नम्बर ४ मा आयोजित समूहको क्षेत्रीय अधिवेशन उद्घाटन गर्दै राजनीतिको मुख्य आधार आफूलाई लागेको विश्वासमा अडिग रहन सक्नु नै भएको बताए। उनले भने, ‘राजनीतिमा सत्यमा रहेर मात्र हुँदैन। सत्यमा रहँदा आउने मूल्य चुकाउन तयार हुनुपर्छ।’
राजनीति सत्ताको भोग गर्नका लागि नभई जनताको सेवाका लागि हो भन्ने उनको जोड थियो। सत्ताको दुरूपयोग गर्ने व्यक्तिहरूले राजनीतिमा आउनु नै हुँदैन भन्दै उनले सचेत गराए। मूल्य–मान्यता र विधि–पद्धतिको राजनीति पछि पर्दै जाँदा सत्ता, शक्ति र पैसा हाबी हुन थालेको र त्यसको असर चुनावहरू महङ्गो बन्दै गएको रूपमा देखिएको उनको विश्लेषण थियो।
महाधिवेशनको माहोल तात्दै गएका बेला देउवा समूहका संयोजकको यो अभिव्यक्तिले पार्टीभित्र मूल्यआधारित राजनीतिका पक्षमा आवाज उठाइरहेको संकेत गरेको छ। कोइरालाले आफ्नो विश्वासमा अडिग रहन र सत्यको मूल्य चुकाउन तयार हुनुपर्ने सन्देश दिएसँगै समूहको क्षेत्रीय अधिवेशन औपचारिक रूपमा सुरु भएको छ।