अर्गानिक चियाकी उद्यमी शान्ता बास्कोटा : कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी

अर्गानिक चियाकी उद्यमी शान्ता बास्कोटा : कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी

पाँचथर : पहाडी जिल्ला पाँचथरलाई अर्गानिक चियामार्फत देश–विदेशमा चिनाउने उद्यमी शान्ता बास्कोटा कोइरालाले नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने घोषणा गरेकी छन्। व्यवसाय, सामाजिक योगदान र राजनीतिलाई एकसाथ जोड्दै आएकी उनको यो कदमले महिला उद्यमशीलता र ग्रामीण अर्थतन्त्रको आवाज केन्द्रीय नेतृत्वसम्म पुर्‍याउने प्रयासका रूपमा हेरिएको छ।

कांग्रेस पाँचथरकी जिल्ला सदस्य बास्कोटा १५औँ महाधिवेशनअन्तर्गत खुला महिलातर्फबाट केन्द्रीय महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएकी थिइन्। प्रतिनिधिमा निर्वाचित भएपछि उनले खुला महिलातर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेकी हुन्। पूर्वगृह राज्यमन्त्री दीपक बास्कोटाको राजनीतिक पृष्ठभूमि रहेको पाँचथरमा उनले आफ्नै पहिचानसहित पार्टीको यात्रालाई निरन्तरता दिँदै आएकी छन्।

बास्कोटा कञ्चनजंघा टी इस्टेट एन्ड रिसर्च सेन्टर (KTERC) की निर्देशक हुन्। फिदिमको पहाडी क्षेत्रमा अर्गानिक चिया, जडीबुटी तथा मसला उत्पादन, प्रशोधन र बजारीकरण गर्दै आएकी उनले ४१८ जना साना किसानलाई अर्गानिक खेतीसँग जोडेकी छन्। चिया बगान तथा कारखानामा करिब १५० जना श्रमिक कार्यरत छन्, जसमध्ये ८५ प्रतिशत महिला छन्। यसले स्थानीय महिलाको रोजगारी र आयआर्जनमा प्रत्यक्ष योगदान पुर्‍याएको छ।

कञ्चनजंघा टी इस्टेटका उत्पादनले NAASA, JAS र USDA लगायतका अर्गानिक प्रमाणपत्र प्राप्त गरेका छन्। संस्थाले जापान, जर्मनी, अमेरिका, क्यानडा तथा खाडी मुलुकलगायतका अन्तर्राष्ट्रिय बजारमा उत्पादन पुर्‍याउँदै आएको छ। दुर्गम पहाडको उत्पादनलाई विश्व बजारसम्म पुर्‍याउने उनको यो प्रयासले स्थानीय अर्थतन्त्रलाई अन्तर्राष्ट्रिय मूल्य शृङ्खलासँग जोडेको छ।

महिला उद्यमशीलता र सामाजिक क्षेत्रमा योगदान पुर्‍याएबापत बास्कोटाले राष्ट्रिय महिला सेवा पुरस्कार, राष्ट्रिय चिया विकास पुरस्कार, राष्ट्रिय प्रदर्शनीमा विशेष पुरस्कार तथा नेपाल महिला उद्यमशीलता पुरस्कार प्राप्त गरेकी छन्। सन् २०२१ मा NewBiz Business Women Summit and Awards बाट ‘Women Entrepreneur of the Year 2021’ सम्मान र २०८२ सालमा नयन मिडिया फाउन्डेसनले प्रदान गरेको ‘कोशी एक्सिलेन्स अवार्ड’ समेत उनले पाएकी छन्।

समाजशास्त्रमा एमफिल–पीएचडी स्कलर गर्दै गरेकी बास्कोटाले व्यवस्थापन, कृषि, मूल्य शृङ्खला, बजारीकरण, नेतृत्व तथा उद्यमशीलतासम्बन्धी राष्ट्रिय–अन्तर्राष्ट्रिय तालिम र सम्मेलनमा सहभागिता जनाएकी छन्। उनी गिरिजाप्रसाद कोइराला फाउन्डेसनको उद्यमशीलता विभागमा निर्देशकका रूपमा आबद्ध छिन्। यस भूमिका मार्फत उनले उद्यमशीलता प्रवर्द्धन र सामाजिक क्षेत्रमा थप योगदान दिँदै आएकी छन्।

केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेसँगै बास्कोटाले आफ्नो उद्यमशीलता र सामाजिक अनुभवलाई पार्टीको नीति निर्माणसँग जोड्ने लक्ष्य अघि सारेकी छन्। महिला उद्यमशीलता, कृषि, किसानको आयआर्जन, स्थानीय उत्पादनको बजारीकरण र ग्रामीण अर्थतन्त्र उनका प्राथमिकताका विषय रहने बताइएको छ।

पाँचथरको दुर्गम पहाडमा चिया व्यवसायसँगै सामाजिक र राजनीतिक गतिविधिमा सक्रिय रहँदै आएकी शान्ता बास्कोटाको यात्रा अब कांग्रेसको केन्द्रीय नेतृत्वतर्फ केन्द्रित भएको छ। अर्गानिक चियाबाट अन्तर्राष्ट्रिय बजारसम्म पुगेकी उनको अनुभवले पार्टीभित्र महिला र ग्रामीण आवाजलाई थप बलियो बनाउने अपेक्षा गरिएको छ।