बूढीगण्डकी बाढी : दुई झोलुङ्‍गे र एउटा फलामको पुल बगायो

बूढीगण्डकी बाढी : दुई झोलुङ्‍गे र एउटा फलामको पुल बगायो

काठमाडौं : हिमाली जिल्ला गोरखाको बूढीगण्डकीमा आइतबार बिहान अचानक बाढी आयो। नदीमा थुनिएको पानी एकाएक फुट्दा दुई झोलुङ्गे पुल र एउटा फलामे पक्की पुल बगे। दुर्गम बस्तीको आवतजावत ठप्प भयो भने केही घरमा बाढी पस्यो।

प्रहरीका अनुसार चुमनुब्री गाउँपालिका–६ लोक्पा र चुम्लिङबीच पहिरो खस्दा बूढीगण्डकी नदी थुनिएको थियो। त्यही थुनिएको पानीले बाढीको रूप लिएपछि विभिन्न स्थानमा क्षति पुगेको हो।

चुमनुब्री गाउँपालिका–३ न्याकचेतस्थित न्याकचेत–सिर्दिबास जोड्ने पुरानो झोलुङ्गे पुल बगेको छ। यसैगरी धार्चे गाउँपालिका–५ माछिखोलाबाट केरौजा जोड्ने अर्को झोलुङ्गे पुल पनि बाढीले बगाएको प्रहरीले जनाएको छ। आरुघाट गाउँपालिका–२ र ३ जोड्ने सोतीस्थित फलामे पक्की पुलसमेत बगेपछि स्थानीयको आवतजावत पूर्ण रूपमा प्रभावित भएको छ।

बाढीले मानवीय क्षति पनि पुर्‍याएको छ। चुमनुब्री गाउँपालिका–३ सिर्दिबास निवासी रामबहादुर गुरुङको एउटा कच्ची घर बगेको छ भने अर्को एउटा घरमा बाढी पसेको छ। धार्चे गाउँपालिका–५ माछिखोलाको तल्लो बस्तीमा बाढी पसेर ५–७ वटा घर र उत्तिकै संख्यामा टहरा प्रभावित भएका छन्।

हिमाली भेगको यो आकस्मिक बाढीले एकातिर भौतिक पूर्वाधारमा ठूलो क्षति पुर्‍याएको छ भने अर्कातिर दुर्गम बस्तीका बासिन्दाको दैनिकीलाई थप कष्टकर बनाएको छ। पुलहरू बगेपछि ती क्षेत्रको आवतजावत कसरी सुचारु हुन्छ भन्ने प्रश्न अहिले स्थानीय र प्रशासन दुवैसामु चुनौतीका रूपमा उभिएको छ।