गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/०८४ को नीति तथा कार्यक्रम आज प्रस्तुत गर्दैछ । प्रदेश प्रमुख डिल्लीराज भट्टले अपराह्न ४ बजे प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै नीति तथा कार्यक्रम सार्वजनिक गर्ने कार्यक्रम छ ।
प्रदेशसभा सचिवालयका सचिव गोविन्द पौडेलका अनुसार, असार १ गते बजेट प्रस्तुत गर्नुपर्ने संवैधानिक व्यवस्थालाई मध्यनजर गर्दै नीति तथा कार्यक्रम आज ल्याउन लागिएको हो ।
प्रदेशसभाको बजेट अधिवेशन जेठ ११ गतेदेखि सुरु भएको थियो । यसबीचमा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताहरूमा प्रदेशसभा सदस्यहरूबीच छलफल सम्पन्न भएको छ । उक्त छलफलको निष्कर्ष र सुझावलाई समेटेर सरकारले नीति तथा कार्यक्रम तयार पारेको बताइएको छ ।
नीति तथा कार्यक्रममा प्रदेश सरकारले आर्थिक विकास, पर्यटन, कृषि, पूर्वाधार र सामाजिक न्यायलाई प्राथमिकतामा राख्ने अपेक्षा गरिएको छ । यसले आगामी बजेटको मार्गदर्शन गर्ने भएकाले प्रदेशवासीको ध्यान यसतर्फ केन्द्रित भएको छ ।
प्रदेश प्रमुख भट्टले प्रस्तुत गर्ने नीति तथा कार्यक्रमपछि प्रदेशसभा सदस्यहरूले छलफल गर्ने कार्यक्रम रहेको प्रदेशसभा सचिवालयले जनाएको छ ।