झापामा क्रुर कुटपिट गरी हत्या, तनहुँका ३५ वर्षीय युवक पक्राउ

झापामा क्रुर कुटपिट गरी हत्या, तनहुँका ३५ वर्षीय युवक पक्राउ

 मेचीनगरमा सामान्य आपसी वादविवादले उग्र रूप लिँदा एक व्यक्तिको ज्यान गएको छ। कुटपिटबाट गम्भीर घाइते भएका ५५ वर्षीय रुद्र श्रेष्ठको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

घटनामा संलग्न रहेको आरोपमा तनहुँ घर भएका ३५ वर्षीय रामबहादुर गौतमलाई प्रहरीले पक्राउ गरेको छ। उनी मेचीनगर-१५ निलकोठीस्थित माँ पाथीभारा प्लाई फ्याक्ट्रीमा काम गर्दै आएका थिए।

प्रहरीका अनुसार आइतबार राति दुवैजनाबीच आपसी वादविवाद हुँदा रामबहादुर गौतमले रुद्र श्रेष्ठमाथि निर्घात कुटपिट गरेका थिए। घाइते श्रेष्ठलाई तत्काल प्रादेशिक अस्पताल भद्रपुर लगिएको थियो। तर, सोमबार बिहान उपचारकै क्रममा उनको मृत्यु भएको हो।

घटनाको खबर प्राप्त हुनासाथ प्रहरी चौकी ज्यामिरगढीबाट खटिएको टोलीले तत्काल रामबहादुर गौतमलाई पक्राउ गरेको थियो।

जिल्ला प्रहरी कार्यालय झापाले घटनाको गम्भीर अनुसन्धान गर्दै गौतमलाई हत्या अभियोगमा कानुनी कारबाही अघि बढाउने बताएको छ।

यो घटनाले स्थानीयबासीमा त्रास पैmलाएको छ। कामको सिलसिलामा एउटै ठाउँमा बस्ने व्यक्तिबीच सामान्य झगडाले यस्तो दुर्घटनात्मक रूप लिनु दुःखद् भएको स्थानीयहरूको भनाइ छ।