महोत्तरीमा गोली चलाएर लुटपाट : ज्वाईं-छोरीसहित दुई जना गम्भीर घाइते

महोत्तरीमा गोली चलाएर लुटपाट : ज्वाईं-छोरीसहित दुई जना गम्भीर घाइते

जनकपुरधाम :महोत्तरीको सोनमा गाउँपालिका-३ खखनामा डाँका समूहले गोली चलाएर लुटपाट गरेको छ। घटनामा घरका मालिक रामविश्वास यादवका ज्वाईं ईश्वर यादव र छोरी किरण यादव गोली लागेर गम्भीर घाइते भएका छन्।

मंगलबार राति करिब अन्धकारमा आएको डाँका समूहले रामविश्वास यादवको घरमा प्रवेश गरी लुटपाट सुरु गरेको थियो। घरका सदस्यहरूले प्रतिकार गर्न खोजेपछि डाँकाहरूले अन्धाधुन्ध गोली प्रहार गरे। गोली लागेर ईश्वर र किरण दुवै जना ढलेका थिए।

जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता डीएसपी पञ्चलाल गोलेले घटनाको पुष्टि गर्दै भने, “डाँका समूहले घरभित्र पसेर लुटपाट गर्न खोज्दा गोली चलाएको देखिन्छ। घाइते दुवैजनालाई तत्काल जनकपुरको जानकी हेल्थ केयरमा लगिएको छ र उपचार भइरहेको छ।”

प्रहरीका अनुसार घटना राति भएको भए पनि बिहान मात्र प्रहरीलाई जानकारी प्राप्त भएको थियो। अहिले घटनास्थलमा प्रहरी टोली पुगेर अनुसन्धान सुरु गरेको छ। डाँकाहरूले कति सामान लुटे भन्ने खुल्न बाँकी छ भने उनीहरूको संख्या र पहिचानबारे पनि प्रहरीले खोजी गरिरहेको छ।

स्थानीयहरूमा त्रास फैलिएको छ। यो घटनाले महोत्तरीमा डाँका तथा गोलीप्रहारका घटनाहरू बढ्दै गएको भन्दै सुरक्षा व्यवस्थालाई कडा बनाउनुपर्ने माग समेत उठ्न थालेको छ।

प्रहरीले डाँका समूहको खोजी तीव्र बनाएको जनाएको छ। घाइते दुवैजनाको अवस्था चिन्ताजनक रहेको अस्पताल स्रोतले बताएको छ।