नेपालको संविधान र कानुनले नेपाली नागरिकलाई अभिव्यक्तिको स्वतन्त्रता प्रदान गरेको छ । नागरिकले आफूलाई लागेको कुरा सार्वजनिक रूपमा राख्न पाउँछन् । सरकारको विरोध गर्न पाउने अधिकार पनि नागरिकलाई छ ।
हिजो काठमाडौं महानगरपालिकाको मेयर हुँदा बालेन साहले यही अधिकार प्रयोग गरेर वर्तमान प्रधानमन्त्री तथा सरकारलाई पटक-पटक गाली गरेका थिए । ट्राफिक प्रहरीले आफ्नी श्रीमती सवार गाडी रोक्दा “सिंहदरबार जलाइदिन्छु” भन्ने उनी नै हुन् । नेताहरूलाई टुकुचामा गाड्ने अभिव्यक्ति पनि उनैबाट आएको थियो । “मलाई बोल्न दे सरकार, अपराध होइन, बोल्न डराउँदैन” भन्दै गीत गाउने पनि बालेन नै थिए ।
तर अहिले आफ्नो नेतृत्वमा सरकार बनेपछि बालेनले नागरिकको अभिव्यक्ति स्वतन्त्रताको अधिकार खोस्न थालेका छन् । विगतमा आफूले उग्र अभिव्यक्ति दिँदा ठीक ठान्ने बालेन अहिले नागरिकको विरोध सुन्न तयार छैनन् । सरकारको विरोध गर्दा नागरिक जेल जानुपर्ने अवस्था सिर्जना भएको छ । बालेन सरकारको विरोध गर्दा एक जनालाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ भने अर्का एक जनालाई स्वास्थ्य मन्त्रीको निर्देशनमा पक्राउ गरिएको थियो । राजीनामा मागेकै भरमा पक्राउ परेको भन्दै सरकारको चर्को आलोचना भएपछि मात्र उनलाई छोडिएको थियो ।
यसैगरी, बालेन सरकारले पत्रकारित क्षेत्रलाई पनि आतंकित बनाउने काम गरिरहेको छ ।
देशमा लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था छ । पुराना नेताहरूले वर्षौंको संघर्ष गरेर ल्याएको यो व्यवस्थाले नागरिकको बोल्ने अधिकार सुनिश्चित गरेको हो । पञ्चायती व्यवस्थामा बोल्न र लेख्न नपाएकाहरूले गरेको आन्दोलनबाट नै यो व्यवस्था आएको हो ।
बालेन र राष्ट्रिय स्वतन्त्र पार्टीका नेताहरूलाई लोकतन्त्र र गणतन्त्रको अर्थ थाहा नहुनु स्वाभाविकै हो । यो व्यवस्था ल्याउन उनीहरूले कुनै संघर्ष गर्नुपरेको छैन । जनताले ज्यानको बाजी राखेर ल्याएको व्यवस्थामा उनीहरूले सहजै मौका पाएका छन् । अनि अहिले जनताको बोल्ने अधिकार खोस्न खोज्दैछन् ।
पञ्चायती व्यवस्थाको विरोध गर्दा गणेशमान सिंहलाई जेल हालिएको थियो, उनी ढलबाट भागेर निस्किएका थिए । शेरबहादुर देउवाको जिब्रोमा करेन्ट लगाइएको थियो, जसको कारण उनी अहिले पनि स्पष्ट बोल्न सक्दैनन् । धेरै नेताले जेलनेल सहे । माओवादीले १० वर्ष जनयुद्ध गरे, १७ हजारभन्दा बढीको ज्यान गयो, हजारौं घाइते भए ।
२०६१ माघ १९ गते राजा ज्ञानेन्द्रले संसद् विघटन गरेर प्रत्यक्ष शासन गरे । सो विरुद्ध सात राजनीतिक दलले २०६२ चैत २४ गतेदेखि आन्दोलन सुरु गरे । १९ दिने आन्दोलनमा सयौं शहीद र हजारौं घाइते भए । अन्ततः २०६३ वैशाख ११ गते राजाले जनतालाई नासो फिर्ता दिए ।
पटक-पटक देशमा आन्दोलन भयो, हजारौं जनता शहीद भए — किन ? बोल्न र लेख्न पाउनुपर्छ भन्ने अधिकारका लागि होइन र ? जनताले संघर्ष गरेर ल्याएको व्यवस्थामा सरकार गठन गर्ने अनि जनतालाई बोल्नै नदिने ? यो सहजै आएको व्यवस्था होइन ।
सरकारले चाहँदैमा जनताले आफ्नो बोल्ने अधिकार खोस्न दिँदैनन् । माओवादी जनयुद्ध गर्दा बालेन सानै थिए भने रवि लामिछाने अमेरिका उडिसकेका थिए । २०५६ मा अमेरिका गएका रवि २०७१ मा नेपाल फर्किए । उनी फर्किनुको मुख्य कारण अमेरिकामा मुद्दाको चाङ र पारिवारिक कलह थियो । देश संकटमा पर्दा विदेश हिँड्ने र नागरिकता त्याग्ने व्यक्तिले अहिले देश बनाउने दाबी गरिरहेका छन् ।
२०७९ को स्थानीय निर्वाचनअघि जनताले बालेनलाई चिनेका थिएनन् । सार्वजनिक रूपमा कुनै उल्लेखनीय काम गरेका पनि थिएनन् । स्वतन्त्र उम्मेदवारको रूपमा काठमाडौंवासीले जिताए । मेयर बनेपछि उनी कामभन्दा बढी स्ट्याटस र सामाजिक सञ्जालको उग्र टिप्पणीका लागि चर्चित भए । हिजो सरकारको विरोध गर्न सामाजिक सञ्जालमा जथाभावी लेख्ने बालेनलाई अहिले अरूले लेख्दा आपत्ति लागिरहेको छ ।
जनतासँगै प्रधानमन्त्री बालेनमाथि पनि कारबाही हुनुपर्छ । उनले पनि सामाजिक सञ्जालमा जथाभावी लेखेका छन् – ऐतिहासिक धरोहर जलाउने चेतावनी दिएका छन्, टुकुचामा गाड्ने भनेका छन् । आफूले गर्दा ठीक, अरूले बोल्दा बेठीक ? यो कस्तो कानुनी राज्य हो ? कानुन सबैलाई समान रूपमा लागू हुनुपर्छ ।
जनताले संघर्ष गरेर ल्याएको लोकतन्त्रको मूल्य र योगदानको कदर गर्नुपर्छ । बालेन सरकार र रास्वपाले पुराना दल र नेताहरूको योगदानलाई बेवास्ता गर्नु हुँदैन । जनताका छोराछोरी शहीद भएर ल्याएको व्यवस्थाको अधिकार खोस्ने दुस्साहस कसैले पनि गर्नु हुँदैन । नत्र फेरि देशमा अशान्ति निम्तिन सक्छ ।
बालेन सरकार नेपालको संविधान २०७२ लाई टेकेर बनेको हो । त्यही संविधानले नागरिकलाई बोल्ने अधिकार दिएको छ । बोलेकै भरमा समात्ने, जेल हाल्ने कार्य संविधानविपरीत छ । यो सरकार राजतन्त्रभन्दा बढी निरंकुश बन्न खोज्दैछ, जुन जनताका लागि स्वीकार्य छैन ।
जनताले कुनै हालतमा आफ्नो अभिव्यक्ति स्वतन्त्रता सरकारलाई खोस्न दिँदैनन् । हिजो यो व्यवस्था ल्याउन लडेका नेता तथा कार्यकर्ताहरू अझै जीवित छन् । उनीहरू चुप लागेर बस्ने छैनन् । सरकारले जनतालाई आतंकित बनाउने, दबाउने र मुख बन्द गर्ने प्रयास गर्नु हुँदैन ।
-अनुसा थापा
भक्तपुर