जोर्डनमा इरानी मिसाइल हमला : दुई अमेरिकी सैनिक मारिए, द्वन्द्व झन् चर्कियो !

जोर्डनमा इरानी मिसाइल हमला : दुई अमेरिकी सैनिक मारिए, द्वन्द्व झन् चर्कियो !

काठमाडौं – जोर्डनस्थित अमेरिकी सैन्य अड्डामा इरानले शनिबार ब्यालिस्टिक मिसाइल हमला गर्दा दुई जना अमेरिकी सैनिकको मृत्यु भएको छ ।

घटनामा थप सैनिक घाइते भएका छन् भने एक जना बेपत्ता छन् ।
इरानको बन्दर अब्बास क्षेत्रबाट प्रहार गरिएका कम्तीमा दुईवटा ब्यालिस्टिक क्षेप्यास्त्रले जोर्डनको मुवाफ्फाक सल्टी एयर बेसमा आक्रमण गरेका थिए ।

उक्त अड्डामा अमेरिकी सैनिक र लडाकु विमानहरू तैनाथ छन् ।
यो युद्ध पुनः सुरु भएको दुई सातापछि अमेरिकी सैनिक मारिएको पहिलो घटना हो ।

यससँगै हालसम्मको द्वन्द्वमा मारिने अमेरिकी सैनिकको संख्या १६ पुगेको छ ।
सामाजिक सञ्जालमा सार्वजनिक भिडियोमा ठूलो धुवाँको मुस्लो उडेको देखिन्छ ।

अमेरिकी सेनाको केन्द्रीय कमाण्ड (सेन्टकम) ले घटनाको पुष्टि गर्दै चार जना घाइते सैनिकको उपचार भइरहेको जनाएको छ ।

आक्रमणपछि अमेरिकाले इरानमाथि तत्काल अर्को चरणको हवाई आक्रमण गरेको छ ।

अमेरिकी अधिकारीहरूले यो आक्रमणलाई “इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्सलाई द्रुत सजाय” भनेका छन् ।

पछिल्लो एक सातामा इरानले जोर्डनका अमेरिकी अड्डाहरूमाथि चार पटक मिसाइल हमला गरिसकेको छ ।

यसले अमेरिकी सुरक्षा प्रणालीको कमजोरी उजागर गरेको चिन्ता व्यक्त गरिएको छ ।
अमेरिका-इरान द्वन्द्व ले फेरि एकपटक तनावपूर्ण मोड लिँदै गएको छ ।

कतार र पाकिस्तानले मध्यस्थता गरिरहे पनि वार्ता हुन सकेको छैन । सैनिक मारिएपछि द्वन्द्व अझै बढ्ने खतरा देखिएको छ ।

यो घटनाले मध्यपूर्वको अस्थिरता अझ चर्काउने संकेत दिएको छ ।