काठमाडौं: सुनसरीमा भएको हिंसात्मक घटनाप्रति गम्भीर चिन्ता व्यक्त गर्दै काठमाडौंमा बसोबास गर्ने बारा र पर्साका विभिन्न क्षेत्रका व्यक्तित्वहरूले सामाजिक सद्भाव कायम राख्न सबैमा हार्दिक अपिल गरेका छन्।
शनिबार जारी गरिएको संयुक्त अपिलमा नेपाल बहुधार्मिक, बहुसांस्कृतिक, बहुभाषिक र बहुजातीय विशेषतायुक्त देश भएको उल्लेख गर्दै सदियौँदेखि नेपाली समाज आपसी आत्मीयता र सद्भावका साथ बाँच्दै आएको स्मरण गराइएको छ। अपिलमा सामाजिक सद्भाव बिथोल्ने प्रयास विगतमा पनि पटक–पटक भए पनि नागरिकहरूको सुझबुझका कारण ती प्रयास असफल भएको उल्लेख गरिएको छ।
संयुक्त वक्तव्यमा सुनसरीमा भएको पछिल्लो घटनालाई सामाजिक सद्भाव बिगार्ने उद्देश्यसहित भएको दुष्प्रयासका रूपमा उल्लेख गर्दै त्यसले हिंसात्मक रूप लिएकोप्रति चिन्ता व्यक्त गरिएको छ। घटनामा ज्यान गुमाएका व्यक्तिप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गरिएको छ भने घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरिएको छ।
अपिलमा यस्तो प्रकारका घटना दोहोरिँदै गए मुलुकका लागि गम्भीर परिणाम निम्तिन सक्ने चेतावनी दिँदै सबै नागरिकलाई आफ्नो स्थानबाट सामाजिक सद्भाव, शान्ति र आपसी विश्वास कायम राख्न योगदान गर्न आग्रह गरिएको छ।
त्यसैगरी घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कानुनबमोजिम कडा कारबाही गर्न सरकारसँग माग गरिएको छ। साथै कुनै पनि उक्साहट, अफवाह वा विभाजनकारी गतिविधिबाट टाढा रहँदै राष्ट्रिय एकता र सामाजिक सद्भाव जोगाउन सबै पक्षलाई संयमता अपनाउन अपिल गरिएको छ।
संयुक्त अपिलमा उमाकान्त चौधरी, चिरञ्जीवी आचार्य, नागेन्द्र चौधरी, अजय द्विवेदी, प्रा.डा. राम कैलाश यादव, बालगोपाल थापा, अशोककुमार गुप्ता, चन्द्रकिशोर चौधरी, जाकिर हुसेन, प्रमेश अमात्य, माधवमान श्रेष्ठ, सन्तोष चौधरी, मदनप्रसाद यादव र डा. रामचन्द्र लामिछानेलगायतका व्यक्तित्वहरूको हस्ताक्षर रहेको छ।