काठमाडौं : चीनको नानजिङमा सम्पन्न तेक्वान्दो ग्रान्डस्लाम युथ लिग फाइनल्समा नेपाली खेलाडीहरूले इतिहास रचेका छन्। चार स्वर्ण, पाँच रजत र छ कांस्यसहित कुल १५ पदक हात पार्दै उनीहरूले नेपालको झण्डा उच्च बनाएका छन्।
काठमाडौं जिल्ला तेक्वान्दो संघका अध्यक्ष विक्रम खड्गीका अनुसार स्वर्ण पदक जित्नेमा उनिका पौडेल, आदिश विष्ट, प्रिशा ज्ञवाली र अफेस खत्री रहेका छन्। रजत पदक हात पार्नेमा लोचनी भट्टराई, सिबेन सुब्बा, शाश्वत निरौला, अभिषेक डल्लाकोटी र आवश्यक विष्ट छन् भने कांस्य पदक सर्वम महतरा, सव्यम महतरा, प्रिशा ज्ञवाली, आराध्य खरेल, गौतम श्रेष्ठ र अनिश अधिकारीले जितेका छन्।
विशेष गरी चन्द्रागिरि टाइगर्स तेक्वान्दो डोजाङका खेलाडीहरूको प्रदर्शन निकै चर्चित बनेको छ। अफेस खत्रीले प्रथम स्थान हात पार्दा आवश्यक विष्ट र अभिषेक डल्लाकोटीले दोस्रो स्थान कब्जा गरे। तीनै खेलाडीको मेहनत, अनुशासन र समर्पणले प्रतियोगितामै हलचल मच्चाएको थियो।
टोलीको नेतृत्व प्रशिक्षक पुजन खड्काले गरेका थिए। उनको निरन्तर प्रशिक्षण र मार्गदर्शनले नै नेपाली खेलाडीहरूले अन्तर्राष्ट्रिय मञ्चमा यस्तो शानदार नतिजा निकाल्न सफल भएको चन्द्रागिरि टाइगर्स तेक्वान्दो डोजाङका उपाध्यक्ष दिनेश कुमार दाहालले भिजन न्युज नेपाललाई बताए।
यो सफलताले नेपाली तेक्वान्दोको स्तर अन्तर्राष्ट्रिय मञ्चमा उकासेको छ। युवा खेलाडीहरूको यो विजयले आगामी दिनमा अझ ठूला प्रतियोगितामा नेपालको दबदबा बढ्ने संकेत दिएको छ।