काठमाडौँ। हालैको विनाशकारी बाढीले नेपालको सडक पूर्वाधारमा करिब ३० अर्ब रुपैयाँको प्रारम्भिक क्षति पुर्याएको छ। पुनर्निर्माणका लागि भने ५० अर्ब रुपैयाँ खर्च हुने प्रारम्भिक अनुमान गरिएको छ। सडक विभागका महानिर्देशक डा. विजय जैसीले मंगलबार विभागमा आयोजित पत्रकार सम्मेलनमा यो जानकारी दिएका हुन्।
रसुवा र पृथ्वी राजमार्गमा भएको क्षतिको प्रकृति अकल्पनीय रहेको जैसीले बताए। विशेषगरी रसुवागढी क्षेत्रमा आएको बाढी प्राविधिक रूपमा सोचेभन्दा निकै भयानक थियो। ‘बाढीको छाल १०० मिटर माथिसम्म थियो र यसको गति ५२ मिटर प्रति सेकेन्ड थियो,’ उनले भने, ‘हामी पुल बनाउँदा १०० वर्षको रिटर्न पिरियड हेर्छौं, तर यो त्योभन्दा धेरै ठूलो थियो।’
एउटा पुल बगाएर त्यसको भग्नावशेषले अर्को पुलको पिलरलाई प्रहार गरेको थियो। यस्तो ‘डेब्री फ्लो’ (लेदो र ढुङ्गासहितको तीव्र बहाव) सडक निर्माणका अन्तर्राष्ट्रिय कोडहरूमा समेत परिकल्पना नगरिएको जैसीले स्पष्ट पारे। यस बाढीले गल्छी–बेत्रावती–रसुवागढी सडकको ४० किलोमिटर खण्ड पूर्ण रूपमा ध्वस्त बनाएको छ। चीनसँगको मुख्य व्यापारिक नाका जोड्ने यो सडक खण्डको विनाशले आपूर्ति र यातायातमा गम्भीर असर पारेको छ।
पृथ्वी राजमार्गको अवरुद्ध कृष्णभीरमा विभागले ‘ब्याक कटिङ’ गरेर भित्तातिरबाट नयाँ बाटो निकाल्ने तयारी गरेको छ। यो काम सम्पन्न गरी बाटो खुलाउन कम्तीमा दुई हप्ता लाग्ने जानकारी दिइएको छ। त्यस्तै, स्याफ्रुबेँसी–केरुङ सडकलाई पुनः जोड्न पुरानै ठाउँबाट सम्भव नभएकाले सडकलाई माथिबाट लगेर फेरि तल झार्ने ‘लुप’ डिजाइन अपनाउने योजना विभागको छ।
तीन जिल्लामा ३५ वटा पुलमा क्षति पुगेपछि विभागले आपत्कालीन पुनर्निर्माणका लागि भारत र चीनबाट बेलिब्रिज मगाउन लागेको छ। भारतबाट ७० मिटरका १० वटा बेलिब्रिज मगाइँदैछ भने चीनबाट पनि बेलिब्रिज ल्याउने तयारी भइरहेको छ। तत्कालका लागि देवीघाट, त्रिशूली र बेत्रावतीमा विभागकै मौज्दातमा रहेका बेलिब्रिज जडान सुरु भइसकेको छ।
बाढी प्रभावित क्षेत्रमा तत्काल काम सुरु गर्न सडक बोर्डले ३ करोड २५ लाख रुपैयाँ विनियोजन गरेको छ। दसैँको मुखमा ग्यास बुलेट र इन्धनको आपूर्ति सहज बनाउन विभागले रात्रिकालीन समयमा वैकल्पिक मार्गहरूमा ट्राफिक व्यवस्थापन गरिरहेको छ। देशभरका मुख्य राजमार्गहरूमा लेदो जमेका कारण सफा गर्न र पहिरो पन्छाउन हाल १५ भन्दा बढी हेभी इक्विपमेन्ट र ५० जनाभन्दा बढी प्राविधिक फिल्डमा खटिएका छन्।
महानिर्देशक जैसीले कठिन परिस्थिति भए पनि विभागका प्राविधिकहरू रातभर खटेर आपूर्ति सहज बनाउन र सडक खुलाउन लागिपरेको बताए। यो बाढीले नेपालको पहाडी भूगोल र पूर्वाधार डिजाइनमा नयाँ चुनौती थपेको छ। अन्तर्राष्ट्रिय मापदण्डमै नसमेटिएको प्रकृतिको विपद्ले भविष्यमा बाढी प्रतिरोधी डिजाइन र पूर्वतयारीलाई अझ कडा बनाउनुपर्ने आवश्यकता औंल्याएको छ।