हरेक वर्ष तीज नजिकिँदै गर्दा नेपाली समाजको कान कुनै न कुनै स्वरको प्रतीक्षामा हुन्छ। त्यो स्वर हो- विष्णु माझीको। वर्षभरि गुमनामझैं बस्ने गायिका जब तीज वा दसैँको संघारमा एउटा गीत लिएर आउँछिन्, सामाजिक सञ्जालमा एउटै प्रतिक्रिया दोहोरिन्छ- ‘बल्ल तीज आएजस्तो भयो।’
यसपटक भने तीज आउनुअघि नै उनको स्वरमा ‘झोर्ले हजुर’ सार्वजनिक भइसकेको थियो। त्यसपछि अर्को गीत आउँछ कि आउँदैन भन्ने अन्योल छाएको थियो। अनि अचानक, माझीकै आधिकारिक युट्युब अकाउन्टमार्फत ‘घरबार’ को अडियो सार्वजनिक भयो। गीतले महिलाको पीडा, वेदना र घरायसी जीवनका नदेखिने भोगाइलाई समेटेको छ। अडियो आएदेखि नै यसले सामाजिक सञ्जालमा चर्चा पाउन थालेको छ। म्युजिक भिडियो चाँडै आउने तयारीमा छ भन्ने सुनिएपछि श्रोतामाझ कौतूहल अझ बढेको छ।
विष्णु माझीको गीत केवल सुर र ताल होइन। त्यो एउटा मौन पुकार हो। जुन महिलाहरूले वर्षौंदेखि आफ्नै छातीभित्र थुनेर राखेका हुन्छन्। ‘घरबार’ ले पनि त्यही थुनिएको आवाजलाई बाहिर ल्याएको छ। घर भनेको सुरक्षा हो कि कैद? बार भनेको सिमाना हो कि बन्धन? गीतले यी प्रश्नहरूलाई सीधै नसोधीकनै महसुस गराउँछ। माझीको गलामा जब पीडा बग्छ, त्यो व्यक्तिगत हुँदैन। त्यो हजारौं महिलाको साझा वेदना बन्छ।
उनी वर्षभरि प्रायः देखा पर्दिनन्। न त चर्चित अन्तर्वार्ता दिन्छिन्, न सामाजिक सञ्जालमा सक्रिय हुन्छिन्। तर जब गीत लिएर आउँछिन्, त्यो चुपचाप आएको आँधीजस्तो हुन्छ। श्रोताहरू गीत सुनेर मात्र होइन, आफ्नै जीवनका दबिएका कथाहरू सुनेझैं अनुभव गर्छन्। कुनै घरको बुहारीले सासुसँगको मौन युद्ध सम्झन्छिन्, कुनै आमाले छोरीको भविष्य सोच्छिन्, कुनै महिलाले आफ्नै अस्तित्वको खोजी गर्छिन्। माझीको स्वरले ती सबैलाई एउटै धागोमा बाँधिदिन्छ।
‘घरबार’ ले पनि त्यही परम्परालाई अगाडि बढाएको छ। गीतमा घरायसी जीवनका ती साना–साना पीडाहरू छन्, जुन बाहिरबाट हेर्दा सामान्य लाग्छन् तर भित्रबाट गहिरो घाउ बनेर बसेका हुन्छन्। माझीले ती घाउलाई चिच्याहटमा होइन, गहिरो सुसेकमा व्यक्त गरेकी छन्। त्यही सुसेकले गीतलाई शक्तिशाली बनाएको छ।
अब सबैको नजर म्युजिक भिडियोमा छ। अडियोले जुन भावना जगाएको छ, भिडियोले त्यसलाई कसरी दृश्यमा उतार्छ भन्ने कौतूहल स्वाभाविक हो। तर विष्णु माझीका गीतहरू कहिल्यै दृश्यमा मात्र सीमित हुँदैनन्। ती सुनेपछि लामो समयसम्म मनमा बस्छन्। किनकि ती गीतले मनको कुनै न कुनै कुनामा लुकेको पीडालाई छोइदिन्छन्।
तीजको मौसममा विष्णु माझीको गीत आउनु भनेको केवल नयाँ रिलिज होइन। त्यो एउटा सामूहिक भावनाको पुनरागमन हो। जुन भावनाले महिलाहरूलाई भन्छ- तिम्रो पीडा सुनिएको छ, तिम्रो वेदना एक्लो छैन। ‘घरबार’ ले पनि त्यही सन्देश बोकेर आएको छ। अनि श्रोताहरू फेरि एकपटक भनिरहेका छन्— बल्ल तीज आएजस्तो भयो।