बालबालिका र अभिभावक दुवैका लागि उपयोगी ‘संस्कृतिको सिरानी’ पुस्तक बजारमा

बालबालिका र अभिभावक दुवैका लागि उपयोगी ‘संस्कृतिको सिरानी’ पुस्तक बजारमा

काठमाडौं : नेपाली संस्कृति, चाडपर्व र परम्परालाई कथानक शैलीमा प्रस्तुत गर्ने उद्देश्यसहित अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) संस्कृति समितिद्वारा प्रकाशित पुस्तक संस्कृतिको सिरानी (Stories on Nepalese Culture) बजारमा आएको छ।

पुस्तकमा नेपाली महत्त्वपूर्ण चाडपर्व तथा संस्कृतिसम्बन्धी ३२ वटा कथा समावेश छन्। महेश्वर पन्त, ऋषभदेव घिमिरे, सुरेन उप्रेती र प्रेम प्रसाद भट्टराईको संयुक्त सम्पादनमा प्रकाशित यो पुस्तक भाषा, साहित्य, कला र संस्कृतिको पुस्तान्तरणका लागि उपयोगी मानिएको छ।

कथानक रूपमा तयार पारिएको यस पुस्तकले बालबालिकालाई चाडपर्व, कला र संस्कृतिको सहज जानकारी दिने र अभिभावकलाई समेत सन्दर्भ सामग्रीका रूपमा उपयोगी रहने अपेक्षा गरिएको छ। पुस्तक नेपाली र अंग्रेजी दुवै भाषामा उपलब्ध छ।

अनेसास संस्कृति समितिका अनुसार पुस्तक बिक्रीबाट प्राप्त रकम अनेसास केन्द्र र विभिन्न च्याप्टरमा रहनेछ। हालसम्म अनेसास बोस्टन च्याप्टरले मात्र ५०० प्रति पुस्तक बिक्रीका लागि संकलन गरिसकेको छ।

पुस्तकमा प्रमोद प्रधान, प्रभा भट्टराई, मदनराज गापा, विमल गिरी, सुशिला प्रधानाङ्ग, दीनदयाल रेग्मी, महेश्वर पन्त, सुरेन उप्रेती, ऋषभदेव घिमिरे, एन.बी. अन्जान, नविन बन्धु पहाडी, विष्णुमाया कट्टेल, धीरेन्द्र प्रेमर्षि, दिनेश राज ज्ञवाली लगायतका स्रष्टा तथा सर्जकका कथाहरू समावेश गरिएका छन्।

सम्पादक ऋषभदेव घिमिरेका अनुसार निकट भविष्यमै पुस्तकलाई अमेजनमा ई-बुक र भौतिक (प्रिन्ट) संस्करणका रूपमा उपलब्ध गराउने तयारी भइरहेको छ। यसले अन्तर्राष्ट्रिय स्तरमा नेपाली संस्कृति र साहित्यलाई थप पहुँचयोग्य बनाउने अपेक्षा गरिएको छ।

नेपाली समुदायमा बसोबास गर्ने बालबालिका तथा अभिभावकहरूका लागि संस्कृति संरक्षण र पुस्तान्तरणको एउटा महत्त्वपूर्ण प्रयासका रूपमा यो प्रकाशनलाई हेरिएको छ।