रास्वपाले स्थानीय चुनाव केन्द्रित अभियानका लागि तोक्यो नेताहरूको जिम्मेवारी

रास्वपाले स्थानीय चुनाव केन्द्रित अभियानका लागि तोक्यो नेताहरूको जिम्मेवारी

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी स्थानीय तह निर्वाचनलाई लक्षित गर्दै देशभरका जिल्लामा आफ्ना नेताहरूलाई जिम्मेवारी तोकेको छ। पार्टीले असोज २० देखि २७ गतेसम्म एक साताका लागि विभिन्न जिल्लामा सांसद तथा केन्द्रीय सदस्यहरूलाई खटाउने निर्णय गरेको हो।

रास्वपा सहमहामन्त्री निशा डाँगीका अनुसार यस अभियानमार्फत पार्टीले नागरिकका कुरा सुन्ने मात्र होइन, पार्टीका नीति र कामकारबाहीबारे पनि जानकारी गराउने लक्ष्य राखेको छ। अभियानका मुख्य दुई उद्देश्य रहेका छन्। पहिलो, स्थानीय तहको कामकारबाही र आगामी चुनावमा उम्मेदवार छनोटको विधिबारे नागरिकलाई बुझाउने। दोस्रो, वर्तमान सरकार गठन भएको करिब ६ महिनाको अवधिमा संसद् र सरकारमार्फत भएका नीतिगत पहल, बाचा कार्यान्वयनको अवस्था र आगामी योजनाबारे पारदर्शी जानकारी दिने।

नागरिकको दैनिकी र विकाससँग सबैभन्दा नजिकबाट जोडिने संयन्त्र स्थानीय सरकार भएकाले स्थानीय नेतृत्व छनोटको लोकतान्त्रिक विधि स्पष्ट पार्न खोजिएको डाँगीले बताएकी छन्। ‘अभियानअन्तर्गत हाम्रा सांसद तथा केन्द्रीय सदस्यहरू ७७ वटै जिल्लाका ७५३ वटै पालिकामा असोज २० गतेदेखि पुग्दै हुनुहुन्छ,’ उनले भनेकी छन्, ‘यो अभियान केवल चुनावको तयारी मात्रै होइन। स्थानीय सरकारलाई अझ बढी जवाफदेही बनाउने र नागरिककै सहभागितामा सही नेतृत्व स्थापित गर्ने एउटा महत्त्वपूर्ण लोकतान्त्रिक अभ्यास पनि हो।’

पार्टीले प्रदेशअनुसार जिल्लाहरूमा जिम्मेवारी पाएका नेताहरूलाई संगठन विस्तार, स्थानीय तह केन्द्रित गतिविधि र पार्टी अभियानमा परिचालन गर्ने जनाएको छ। वर्तमान सरकार गठनपछिको करिब ६ महिनामा भएका कामको प्रचारप्रसार पनि अभियानको महत्वपूर्ण हिस्सा रहनेछ। नागरिकसँग गरेका बाचाको कार्यान्वयन कस्तो रह्यो र आगामी दिनमा पार्टीका योजना के छन् भन्ने विषयमा विस्तृत जानकारी लिएर नेताहरू मैदानमा जाने तयारी पार्टीले गरेको छ।

रास्वपाको यो अभियान स्थानीय तह निर्वाचनको तयारीसँगै पार्टीको संगठन विस्तार र जनसम्पर्कलाई थप मजबुत बनाउने उद्देश्यले अगाडि बढाइएको छ।