दलित एकताको नयाँ अध्याय : गण्डकी प्रदेश समितिको भव्य उद्घाटन

दलित एकताको नयाँ अध्याय : गण्डकी प्रदेश समितिको भव्य उद्घाटन

काठमाडौं,  दलित समुदायको दयनीय अवस्था र उनीहरूको अधिकार प्राप्तिका लागि शान्तिपूर्ण विद्रोहको आवश्यकता रहेको निष्कर्षसहित नेपाल दलित उत्पीडित केन्द्रको गण्डकी प्रदेश सम्पर्क समन्वय समितिको प्रथम भेला सम्पन्न भएको छ।

काठमाडौंको शुकेधारा स्थित लेभिस गार्डेनमा आयोजित औपचारिक कार्यक्रममा संगठनका अध्यक्ष नन्दाराज घतानेले दलित जीवनको कठिन यथार्थलाई तीखो शब्दमा उजागर गर्दै भने, “दलित समुदायको जीवन सबै तवरबाट हेर्दा दयनीय छ। यसलाई सुधार्न शान्तिपूर्ण विद्रोह नै गर्नुपर्छ।”

भेलाको सभाध्यक्षता गण्डकी प्रदेश संयोजक कृष्ण विश्वकर्माले गरेका थिए भने प्रमुख अतिथिको रूपमा अध्यक्ष घताने र विशिष्ट अतिथिको रूपमा भगत सर्बजित विश्वकर्मा प्रतिष्ठानका अध्यक्ष रामकृष्ण शेन्चुरी रहेका थिए। नेपाल दलित मोर्चा गण्डकी प्रदेश सम्पर्क समन्वय समितिका अध्यक्ष मानबहादुर बिक, सचिव इन्द्र बिक, केन्द्रका महासचिव कृतीमान नेपाली, सल्लाहकार कृष्णबहादुर बिक, उपमहासचिव किसान विश्वकर्मा, कोषाध्यक्ष विमला बिक लगायतको उपस्थिति रहेको थियो।

कार्यक्रमको सुरुवात उपमहासचिव किसान विश्वकर्माको स्वागत मन्तव्यबाट भएको थियो भने संचालन कार्यबाहक महासचिव कमल विश्वकर्मा ‘बिम्ब’ ले गरेका थिए। उपमहासचिव विश्वकर्माले भेलाको उद्देश्यमाथि प्रकाश पार्दै संगठनलाई प्रदेश स्तरमा मजबुत बनाउने र दलित अधिकार आन्दोलनलाई तीव्रता दिने योजना प्रस्तुत गरे।

सात प्रदेश र ७७ जिल्लामा संगठन विस्तार
कार्यबाहक महासचिव बिम्बले भेलामा जानकारी दिएअनुसार नेपाल दलित उत्पीडित केन्द्र अहिले सातै प्रदेश र ७७ वटै जिल्लामा स्थापित भइसकेको छ। उनले भने, “अब आन्दोलन र विद्रोह मार्फत दलित समुदायलाई अधिकार सम्पन्न बनाउने समय आएको छ।”

भेलाले गण्डकी प्रदेश सम्पर्क समन्वय समितिका लागि नयाँ नेतृत्व चयन गरेको छ। सुबास गदाल को संयोजकत्वमा ७ सदस्यीय समिति गठन भएको छ। समितिमा उपसंयोजक सुरेश बर्देवा तथा सदस्यहरू धना सुनार, रुपा बि.क., शोभित बि.क., मञ्जली बस्याल र धनमाया बि.क. रहेका छन्।

महासचिव कृतीमान नेपालीले नयाँ समितिलाई बधाई दिँदै भने, “यो समितिले गण्डकी प्रदेशलाई एकताबद्ध बनाएर अगाडि बढ्नेछ।” नयाँ संयोजक सुबास गदालले आफू सक्रिय रूपमा संगठन विस्तारमा लाग्ने प्रतिबद्धता व्यक्त गरे।

एकताबद्ध मुक्तिको आह्वान
कार्यक्रमको समापन गर्दै नेपाल दलित उत्पीडित केन्द्रका वरिष्ठ उपाध्यक्ष तथा गण्डकी प्रदेश संयोजक कृष्ण विश्वकर्माले सबैलाई एकताबद्ध भएर मुक्तिको लडाइँ लड्न आह्वान गरे। उनले भेलामा पारित सन्देशलाई जिल्ला तहसम्म पुर्‍याउन निर्देशन दिए।

दलित मोर्चा गण्डकीका अध्यक्ष मानबहादुर बिकले पनि पूर्ण ऐक्यबद्धता प्रकट गर्दै केन्द्रसँग मिलेर काम गर्ने बताए।
यो भेलालाई दलित आन्दोलनको गण्डकी प्रदेशमा नयाँ अध्यायको रूपमा हेरिएको छ। शान्तिपूर्ण तर दृढ विद्रोहको बाटोबाट दलित समुदायलाई सामाजिक, आर्थिक र राजनीतिक रूपमा सशक्त बनाउने लक्ष्यसहित गठित नयाँ समितिले अब प्रदेशभरि संगठनात्मक गतिविधिलाई तीव्रता दिने अपेक्षा गरिएको छ।

दलित अधिकारको आवाज अब थप चर्को र संगठित हुने संकेत यो भेलाले स्पष्ट रूपमा दिएको छ।