पोखरामा पहिरोले थुनियो सेती नदी : पानीको सतह ५० मिटर बढ्यो, खतरा बढ्दो !

पोखरामा पहिरोले थुनियो सेती नदी : पानीको सतह ५० मिटर बढ्यो, खतरा बढ्दो !

 

पोखरा, ३ साउन – अविरल वर्षाका कारण पोखरामा ठूलो पहिरो खस्दा सेती नदी थुनिएको छ ।

नदी थुनिँदा माथिल्लो भागमा पानीको सतह करिब ५० मिटर बढेको छ ।

पोखरा महानगरपालिका-१५ र १७ को सीमाना रहेको रातोपहिरो क्षेत्रमा नदीले कटान गरेपछि खसेको पहिरोले नदीको बाटो पूर्ण रूपमा अवरुद्ध गरेको हो ।

पानी निकास हुन नसक्दा बाढीको जोखिम बढेको स्थानीयले बताएका छन् ।

पहिरो खसेको खबरपछि कास्कीका प्रमुख जिल्ला अधिकारी कुमानसिंह गुरुङ, प्रहरी प्रमुख एसपी नवीन कार्की र पोखरा महानगरपालिकाका उपप्रमुख मञ्जुदेवी गुरुङलगायतको टोली आइतबार बिहान घटनास्थल पुगेर निरीक्षण गरेका थिए ।

सेती नदी पोखराको मुख्य जलाधार हो । पहिरोले नदी थुनिँदा आसपासका बस्ती र पर्यटकीय क्षेत्रमा बाढी तथा डुबानको खतरा बढेको छ ।

पानीको सतह अत्यधिक बढेका कारण स्थानीयमा त्रास फैलिएको छ ।
प्रशासनले जोखिम क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरेको छ ।

पहिरो हटाउने र नदीको पानी निकास खुलाउने काम छिट्टै सुरु गरिने बताइएको छ ।

अविरल वर्षाले पोखरासहित देशका विभिन्न भागमा पहिरो र बाढीको जोखिम बढाएको बेला सेती नदीमा भएको यो घटनाले प्राकृतिक विपत्तिप्रति पुनः सचेत गराएको छ ।