मिलन तामाङको मन अझै पनि ओखलढुंगाको सुनकोशी गाउँपालिका–२, बलखुको माटोमा अल्झिएको छ। न्युजिल्यान्डको शान्त आकाशमुनि बसेका उनको आँखामा भने अझै पनि आफ्नै गाउँको बाटो, आफ्नै खेतबारीको हरियाली र परिवारको अनुहार घुमिरहन्छ। तर उनी फर्किएका छैनन्। फर्कन सक्दैनन्। किनकि नेपाल फर्किए भने ज्यान जाने खतरा छ।
यो कथा रोजगारीको खोजीमा विदेशिएका हजारौं युवाको होइन। यो त ऋणको भारी, धम्कीको त्रास, कुटपिट र सामाजिक बेइज्जतीले देश छाड्न बाध्य बनाइएको एउटा युवाको कथा हो—जसले देशमै केही गर्ने सपना बोकेको थियो।
मिलन तामाङको सपना साधारण थियो। विदेशमा गएर पैसा कमाउने होइन, आफ्नै माटोमा पसिना बगाएर परिवारसँगै बस्ने। कृषि गर्ने, आफ्नै जग्गामा केही उठाउने र गाउँमै सुरक्षित जीवन बिताउने। त्यही सपना पूरा गर्न उनले ‘माछापुच्छ्रे धम्पुस एग्रो’ नामक कृषि कम्पनी खोले। तर कम्पनी खोल्दा नै ठूलो ऋण लाग्यो। त्यसमाथि जग्गा प्लटिङको कारोबार गर्न चर्को ब्याजदरमा थप ऋण लिए। एकाएक जग्गाको मूल्यमा ओरालो लाग्यो। आर्थिक मन्दीले गर्दा थप कारोबार हुन सकेन। जति कारोबार भए, ती उधारोमा फसे। दलालहरूले पैसा माग्दा उल्टै डर र धम्की दिन थाले। ऋण बढ्दै गयो। त्यसपछि सुरु भयो त्रासको चक्र।
ऋणीहरूको चपेटामा परेपछि मिलनले फेरि कृषिमा फर्कने प्रयास गरे। तर त्यो पनि सम्भव भएन। ऋण तिर्न नसक्दा धम्की आउन थाल्यो—‘मार्छौं। तँलाई मात्र होइन, तेरो परिवारलाई पनि मार्छौं।’ विभिन्न दलका गुण्डा र नाइकेले बारम्बार फोन गरेर, घरमा आएर डर देखाउन थाले। घरमा आएर कुटपिट गर्ने, समाजको अगाडि गालीगलौज र बेइज्जती गर्ने क्रम बढ्यो। यस्तो भाषा सुनिन थाल्यो—‘फलानोको ऋण तिर्छस् कि मारौं?’ घरमा बस्ने वातावरण नै बाँकी रहेन। यतिसम्म कि कहिलेकाहीँ उनलाई नराम्रा सोचसम्म आउन थालेको उनले सुनाए। अहिले पनि ऋणीहरूले घरपरिवारलाई उस्तै सताइरहेका छन्।
अझ पीडादायी कुरा के थियो भने उनी एक समय राजनीतिक पार्टीसँग जोडिएका थिए। पार्टीले खटाएअनुसार काम गर्नुपथ्र्यो। तर जनतालाई दुःख दिने, सताउने खालका गतिविधि गर्न उनले अस्वीकार गरे। पार्टी छोडेर घरमै बसेर कृषि गर्ने निर्णय गरे। तर छोडेपछि पनि पछ्याउने, धम्की दिने क्रम रोकिएन। गोप्य कुरा बाहिर ल्याए भने ज्यान मार्नेसम्मको धम्की आएको उनले बताए।
त्यसपछि प्रश्न एउटै रह्यो—‘आफ्नै गाउँमा बसेर म कसरी सुरक्षित जीवन बिताउन सक्छु?’
उत्तर थिएन। लाखौंको ऋणको भारी बोकेर, परिवारलाई छाडेर मिलन विदेशिन बाध्य भए। न्युजिल्यान्ड पुगे। तर समस्या रोकिएन। विदेश पुगेपछि पनि घरमा रहेका परिवारका सदस्यलाई फोन आउँछ। छोरा कहाँ छ भनेर सोधिन्छ। चन्दा मागिन्छ। डर र धम्की दिइन्छ। उनी सुरक्षित ठाउँमा बसेका छन् भन्ने लागे पनि मन शान्त छैन।
“विदेशमा बस्न मन भएर आएको होइन,” मिलन भावुक हुँदै भन्छन्, “आफ्नै देशमा केही गर्न चाहन्थेँ। आफ्नै ठाउँमा बसेर कृषि गर्न चाहन्थेँ। माछापुच्छ्रे धम्पुस एग्रो खोलेर गाउँमै रोजगारी सिर्जना गर्ने सपना थियो। तर ऋण र धम्कीका कारण देश छोड्नुपर्यो। नेपाल फर्किएँ भने मलाई मार्नेसम्मको धम्की दिइएको छ। त्यसैले चाहेर पनि फर्किन सक्ने अवस्था छैन।”
उनको आवाजमा अहिले पनि त्यो त्रास जीवित छ। शरीर न्युजिल्यान्डमा छ, तर मन नेपालमै छ। आफ्नै गाउँको बाटो हिँड्न चाहन्छन्। आफ्नै खेतबारीमा काम गर्न चाहन्छन्। परिवारसँग सामान्य जीवन बिताउन चाहन्छन्। तर एउटा डरले रोकेको छ—‘नेपाल फर्किएँ भने के म सुरक्षित रहन्छु?’
मिलनको कथा एउटा व्यक्तिको मात्र होइन। फरक विचार राख्दा, दबाब स्वीकार नगर्दा वा ऋणको पासोमा पर्दा असुरक्षित महसुस गर्ने नेपाली युवाको कथा हो। यद्यपि उनले लगाएका आरोप व्यक्तिगत दाबी हुन् र स्वतन्त्र पुष्टि आवश्यक छ। तर उनको कथाले उठाएको प्रश्न गम्भीर छ—आफ्नै देशमा सुरक्षित भएर बाँच्न र भविष्य बनाउन नसक्ने महसुस भएपछि युवाहरूले देशमै बस्ने आधार कसरी पाउने?
आज मिलन न्युजिल्यान्डमा छन्। तर उनी देश फर्कन चाहन्छन्। आफ्नै माटोमा फर्कन चाहन्छन्। ज्यानको जोखिम नहोस् भन्ने एउटै चाहना बोकेर।
यो कथा ऋणको बोझ, कुटपिट, सामाजिक बेइज्जती र ज्यानको डरले देश छाड्न बाध्य बनाइएका युवाको कथा हो। र यो प्रश्न अझै अनुत्तरित छ—नेपाल फर्किए भने, के उनी सुरक्षित रहन्छन्?