दशैंको टीकाको उत्तम साइत : कात्तिक ४ गते बिहान १०:२६ बजे

दशैंको टीकाको उत्तम साइत : कात्तिक ४ गते बिहान १०:२६ बजे

 

काठमाडौं : यस वर्षको दशैंमा टीकाको उत्तम साइत कात्तिक ४ गते बुधबार बिहान १० बजेर २६ मिनेटमा रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ। विजया दशमीका दिन देवी विसर्जनको साइत भने बिहान ८:४९ बजे तोकिएको छ। टीका लगाउँदा लगाइमाग्ने व्यक्ति पश्चिम दिशा फर्किनुपर्ने पनि समितिले स्पष्ट पारेको छ।

दशैंको औपचारिक सुरुवात असोज २५ गते आइतबार नवरात्रारम्भ तथा घटस्थापनाबाट हुनेछ। घटस्थापनाको शुभसाइत बिहान ११:४७ बजे रहेको छ। उक्त दिन चित्रा नक्षत्र र वैधृति योग परेकोले घटस्थापना गर्नुअघि चित्रा नक्षत्र र वैधृति योगको शान्ति गरी मात्र घटस्थापना गर्नु शास्त्रसम्मत हुने समितिले जनाएको छ।

असोज २६ गते सोमबार बिहान १०:०७ बजे झण्डा फेर्ने शुभसाइत छ। झण्डा पश्चिम मोहडा फर्काएर फेर्नुपर्ने बताइएको छ। असोज २९ गते बिहीबार श्रीपचलीभैरव यात्रा हुनेछ भने असोज ३१ गते शनिबार फूलपाती पर्दछ। फूलपातीका दिन श्री तुलजाभवानी यात्राको शुभसाइत बिहान ७:३७ बजे र स्थिरासनको शुभसाइत बिहान १०:३९ बजे रहेको छ।

कार्तिक १ गते आइतबार महाष्टमी तथा कालरात्रि मनाइनेछ। कार्तिक ३ गते मंगलबार महानवमी पर्दछ। त्यसपछि कार्तिक ४ गते बुधबार विजया दशमी, देवी विसर्जन तथा टीकाको दिन आउँछ। टीकाको मुख्य साइत बिहान १०:२६ बजे तोकिएको छ। सोही दिन श्री तुलजाभवानी यात्रा १०:५१ बजे, स्थिरासन ११:५२ बजे र खड्गयात्रा पनि सम्पन्न हुनेछ।

दशैंको अन्तिम महत्वपूर्ण पूजा कार्तिक ८ गते आइतबार अखिलबलिपूर्ति तथा कोजाग्रत पूजाका रूपमा मनाइनेछ।

यस वर्षको दशैंमा घटस्थापनादेखि टीकासम्मका साइतहरू स्पष्ट रूपमा सार्वजनिक भएसँगै धार्मिक तथा सांस्कृतिक तयारीले गति लिने अपेक्षा गरिएको छ। परिवारहरूले अब यी शुभसाइतअनुसार पूजाआजा र टीकाको तयारी थाल्नेछन्।