ललितपुर : गोदावरी नगरपालिका–१४, बाँडेगाउँस्थित मामाघर अनाथ असहाय बालबालिका संरक्षण समाज (मामाघर आश्रम) ले आर्थिक वर्ष २०८२/०८३ को सामाजिक लेखापरीक्षण कार्यक्रम सम्पन्न गरेको छ। आश्रमले असहाय बालबालिकालाई आश्रय, शिक्षा र पारिवारिक वातावरण प्रदान गर्दै आएको पृष्ठभूमिमा यो कार्यक्रमले संस्थाको आर्थिक पारदर्शिता र जवाफदेहिता थप स्पष्ट बनाएको छ।
कार्यक्रमको सभाध्यक्षता आश्रमका अध्यक्ष बालयोगेश्वर विजय कृष्णमूर्ति जी महाराजले गरेका थिए। उनले संस्थाको आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै विभिन्न शीर्षकमा कुल ९१ लाख ९७ हजार ७५१ रुपैयाँ आम्दानी भएको जानकारी दिए। त्यस्तै, कुल खर्च ९१ लाख ५५ हजार ४१० रुपैयाँ रहेको र खर्च कटाएर ४२ हजार ३४१ रुपैयाँ बचत भएको बताए।
अध्यक्ष महाराजले मन्तव्यका क्रममा संस्थाको उद्देश्य, परिचय, कार्यविधि, चुनौती, उपलब्धि तथा अवलम्बन गरिएका नीति–नियमबारे प्रकाश पारे। हाल आश्रमले ७० जना बालबालिकाको संरक्षण, संवर्द्धन तथा उज्ज्वल भविष्य निर्माणका लागि काम गरिरहेको जानकारी दिँदै उनले सरकारी नीति–नियमअनुसार पारिवारिक वातावरणमा हुर्काउने प्रयास भइरहेको उल्लेख गरे।
गोदावरी नगरपालिका महिला विकास अधिकृत सीता गुरुङले आश्रमको कार्यको प्रशंसा गर्दै शुभकामना व्यक्त गरिन्। गोदावरी नगरपालिका पूर्ण बालमैत्री घोषणा भइसकेको उल्लेख गर्दै उनले मामाघर आश्रम बालबालिकाको संरक्षण, शिक्षा र भविष्य निर्माणमा उत्कृष्ट योगदान पुर्याउने संस्थामध्ये एक रहेको बताइन्। अध्यक्ष महाराजले देशका लागि योग्य, सक्षम र असल कर्णधार तयार पार्न गरिरहेको प्रयास प्रशंसनीय रहेको उनको भनाइ थियो।
श्री बुद्ध माध्यमिक विद्यालयका प्रधानाध्यापक प्रेमपति जोशीले आश्रममा संरक्षित अधिकांश बालबालिका आफ्नो विद्यालयमा अध्ययनरत रहेको जानकारी दिए। ती बालबालिका पढाइमा अग्रस्थानमा रहनुका साथै संस्कार, गायन, नृत्य, अनुशासन र अन्य विविध गतिविधिमा समेत उत्कृष्ट रहेको उनले बताए।
कार्यक्रममा विभिन्न संघसंस्थाका अध्यक्ष तथा प्रतिनिधि, वडा प्रतिनिधि, आजीवन सदस्य, शिक्षक, प्राध्यापक, पत्रकार, बुद्धिजीवी तथा समाजसेवीहरूको उल्लेख्य सहभागिता रहेको थियो।
मामाघर आश्रमले असहाय तथा संरक्षणको आवश्यकता भएका बालबालिकालाई आश्रय, शिक्षा, संस्कार र पारिवारिक वातावरण प्रदान गर्दै उनीहरूको उज्ज्वल भविष्य निर्माणमा योगदान पुर्याउँदै आएको छ। सामाजिक लेखापरीक्षण कार्यक्रमले संस्थाको आर्थिक पारदर्शिता, जवाफदेहिता तथा सामाजिक उत्तरदायित्वलाई थप सुदृढ बनाउने अपेक्षा गरिएको छ।