लमजुङका साहित्यकार लक्ष्मीप्रसाद मिश्र अन्तर्राष्ट्रिय साहित्यिक कार्यक्रममा सम्मानित

लमजुङका साहित्यकार लक्ष्मीप्रसाद मिश्र अन्तर्राष्ट्रिय साहित्यिक कार्यक्रममा सम्मानित

काठमाडौः लमजुङका साहित्यकार तथा समाजसेवी लक्ष्मीप्रसाद मिश्र अन्तर्राष्ट्रिय साहित्यिक कार्यक्रममा सम्मानित भएका छन् ।

चारु साहित्य प्रतिष्ठान लुम्बिनी प्रदेशले दाङको लमहीमा आयोजना गरेको नेपाल–भारत अन्तर्राष्ट्रिय चारु महोत्सव, प्रतिष्ठानको आठौं वार्षिकोत्सव, २१३औँ भानु जयन्ती तथा पर्यटन प्रवर्द्धन कार्यक्रमका अवसरमा उनलाई सम्मान गरिएको हो।

प्रतिष्ठानका अनुसार असार २६ र २७ गते आयोजित दुईदिने कार्यक्रममा नेपाल र भारतका साहित्यकारहरूको सहभागिता रहेको थियो। कार्यक्रममा सात वटा चारु कृति सार्वजनिक गरिनुका साथै तीन दर्जनभन्दा बढी साहित्यकारलाई सम्मान गरिएको आयोजकले जनाएको छ।

मिश्रलाई चारु साहित्य प्रतिष्ठान लुम्बिनी प्रदेश र चारु साहित्य प्रतिष्ठान केन्द्रीय समितिको तर्फबाट ‘सुनौलो चारु पुरस्कार–२०८३’ सहित नगद र प्रमाणपत्र प्रदान गरिएको थियो। उनले एउटै समारोहमा दुईवटा सम्मान प्राप्त गरेका हुन् ।

कार्यक्रम चारु साहित्य प्रतिष्ठान लुम्बिनी प्रदेशका अध्यक्ष तेजप्रसाद खनालको अध्यक्षता तथा लमही नगरपालिकाकी उपप्रमुख लक्ष्मी योगीको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो।

लमजुङको सुन्दरबजार नगरपालिका–७, पाउदी निवासी मिश्र विभिन्न साहित्यिक तथा सामाजिक संघसंस्थामा आबद्ध रहँदै जिल्लाको साहित्यिक र सामाजिक क्षेत्रमा सक्रिय रहेका छन् ।। नेपाली सेनाबाट अवकाश प्राप्त उनी यसअघि पनि साहित्यका क्षेत्रमा पुर्‍याएको योगदानका लागि विभिन्न सम्मानबाट विभूषित भइसकेका छन्।

नेपालको पहिलो चारु हेर्नुहोस् !