ललितपुरको गोदावरी क्षेत्र यतिबेला फूलको सुगन्धले मगमगाइरहेको छ। तिहार र छठको पर्व नजिकिँदै गर्दा फ्लोरिकल्चर एशोसिएसन नेपाल (फ्यान) ले ‘रोपेर फूल गोदावरी, सजाऔ घर आँगन वरिपरि’ नारासहित १९ औं गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी सुरु गरेको छ।
आजदेखि सुरु भएको यो पाँचदिने मेला फूलप्रेमी, नर्सरी व्यवसायी र सामान्य नागरिकका लागि एकै ठाउँमा रङ्ग, सुगन्ध र हरियालीको भण्डार बनेको छ।मेलामा कुल ८६ वटा स्टल राखिएका छन्। तीमध्ये ७८ व्यावसायिक, एक प्लान्ट क्लिनिक, चार आधिकारिक, दुई प्रतियोगितात्मक र एक फोटो सेल्फी स्टल छन्। नेपालमै उत्पादित विविध जातका गोदावरीदेखि यसै वर्ष भित्रिएका नयाँ प्रजातिसहित ४५० भन्दा बढी प्रकारका फूल तथा बिरुवा प्रदर्शनी र बिक्रीका लागि राखिएका छन्।
मिनियचर, स्पाईडर, रिफ्लेक्स, इन्कर्भ र कट फ्लावर गरी गोदावरीका पाँच प्रजातिमा नर्सरी तथा फार्महरूबीच प्रतिस्पर्धा पनि चलाइएको छ। यस वर्ष उत्कृष्ट स्टलसँगै उत्कृष्ट पुष्प सजावट विधा थपिएको छ। विजेताहरूलाई सिल्ड, नगद र प्रमाणपत्रले सम्मान गरिनेछ।तिहारमा माला, घरआँगन सजावट र छठमा पूजाका लागि फूलको माग ह्वात्तै बढ्ने समय हो। यसैलाई लक्षित गरी आयोजना गरिएको यो प्रदर्शनीले व्यावसायिक फूल उत्पादनलाई बजारसँग जोड्ने मात्र होइन, घरमै फूल रोप्ने संस्कृतिलाई पनि प्रोत्साहन दिने लक्ष्य राखेको छ।
आयोजकको अपेक्षा अनुसार मेला अवधिमा ३९ हजारभन्दा बढी दर्शकले अवलोकन गर्ने र करिब १ करोड ३० लाख रुपैयाँको व्यावसायिक कारोबार हुनेछ।गोदावरी क्षेत्रको हरियो परिवेशमा फूलका थुङ्गाहरू फुल्दा दृश्य नै आकर्षक बनेको छ। साना नर्सरीदेखि ठूला फार्मसम्मका उत्पादकहरू आफ्ना उत्पादन देखाउन र बिक्री गर्न उत्साहित देखिन्छन्।
प्लान्ट क्लिनिकले बिरुवाको स्वास्थ्यसम्बन्धी सल्लाह दिने भएकाले सामान्य माली र घरको बगैंचा सजाउनेहरूका लागि पनि यो मेला उपयोगी बन्नेछ।पाँच दिनसम्म चल्ने यो प्रदर्शनीले तिहारको रौनकलाई थप रङ्गीन बनाउने निश्चित छ। घरआँगनमा फूल रोप्ने, सजाउने र नेपाली फूलको मूल्य बुझ्ने अभियानसँग जोडिएको यो मेला ललितपुरमा मात्र होइन, देशभरका फूलप्रेमीका लागि एक आकर्षणको केन्द्र बनेको छ। गोदावरीको सुगन्धले घरघरमा फैलिएको तिहारको खुसी अहिले यहींबाट सुरु भएको छ।