त्रिविमा लज्जास्पद ढिलासुस्ती : २०८१ को परीक्षा २०८३ मा, नतिजा आउन अझै एक महिना !

त्रिविमा लज्जास्पद ढिलासुस्ती : २०८१ को परीक्षा २०८३ मा, नतिजा आउन अझै एक महिना !

 

काठमाडौं – त्रिभुवन विश्वविद्यालयको लापरवाहीले विद्यार्थीहरूको वर्षौंको पढाइ अन्धकारमा परेको छ ।

मानविकी तथा सामाजिक शास्त्र संकायको बीए प्रथम वर्ष २०८१ को परीक्षा २०८३ जेठमा मात्र सम्पन्न भएको छ ।
अब नतिजा आउन अझै एक महिनाभन्दा बढी लाग्ने भएको छ ।

२०८१ मा हुनुपर्ने परीक्षा दुई वर्ष ढिलो भएर २०८३ जेठ १८ देखि २७ गतेसम्म सञ्चालन भएको थियो ।

२ हजार ४ सय ३० परीक्षार्थी सहभागी उक्त परीक्षाको नतिजा असारमा आउने अपेक्षा गरेका विद्यार्थीहरू अझै रित्तो हात बसेका छन् ।

परीक्षा नियन्त्रण कार्यालय बल्खुले भदौमा नतिजा प्रकाशन गर्ने तयारी गरेको छ । तर परीक्षा नियन्त्रक लक्ष्मण पौडेलले “सकेसम्म साउनमा, नभए भदौमा” भनेका छन् ।

विद्यार्थीहरू आक्रोशित छन् । एक विद्यार्थीले भने, “परीक्षा सञ्चालनमै एक वर्ष लाग्यो, अब नतिजा कुरेर अर्को वर्ष बर्बाद गर्ने हो ?

उच्च शिक्षा, रोजगारी, विदेश अध्ययन र छात्रवृत्तिका लागि नतिजा कुरिरहेका विद्यार्थीको भविष्यको जिम्मेवारी त्रिविले लिन्छ ?”

वार्षिक परीक्षा प्रणालीमा त्रिविको यो अस्वाभाविक ढिलासुस्तीले विद्यार्थीहरूको शैक्षिक यात्रा नै प्रभावित भएको छ ।

एक-दुई विषयको नतिजा कुरिरहेका विद्यार्थीहरूले प्रवेश परीक्षा, जागिर र थप अध्ययनका अवसर गुमाउनुपर्ने अवस्था आएको छ ।

त्रिविको यो लज्जास्पद कार्यशैलीले विद्यार्थीहरूको भविष्यसँग खेलबाड गरिरहेको स्पष्ट देखिन्छ । जब परीक्षा नै ढिलो हुन्छ, नतिजा झन् ढिलो आउँछ, तब विद्यार्थीले कहिले पढ्ने र कहिले अघि बढ्ने ?

त्रिभुवन विश्वविद्यालयको यो ढिलासुस्ती अब विद्यार्थीहरूको धैर्यको सीमा नाघिसकेको छ ।