लेदो पन्छ्याएपछि बल्ल चल्न थालेको पृथ्वी राजमार्ग फेरी ठप्प भएको छ। कारण-कृष्णभीरमा त्रिसुली नदीले गरेको कटान र पहिरो। आज बिहान करिब ९ बजेतिर सडक भासिएको थियो। कृष्णभीरबाहेक परेवा भिरसहित अन्य छ स्थानमा सडक चर्किएको र भासिएको छ। यो बाटोले काठमाडौं उपत्यका लाई देशका ६७ जिल्लासँग जोड्छ। ठूला मालवाहक सवारी, ग्यास बुलेट र लामो दूरीका यात्रुबाहक सवारी यही बाटोबाट चल्ने गर्छन्। पश्चिम नेपालसँग काठमाडौंको मुख्य सम्पर्कको कडी पनि यही हो। त्यसैले यसलाई काठमाडौंको ‘लाइफलाइन’ भनिन्छ। तर अहिले यो लाइफलाइन पूर्ण अवरुद्ध छ।
आज बिहान भोटेकोशीबाट आएको बाढीले कृष्णभीर खण्ड भासिएपछि सडक पूर्ण रूपमा बन्द भएको हो। धादिङ खण्डका विभिन्न स्थानमा सडक भासिएको र क्र्याक भएको छ। विज्ञ टोलीले अनुगमन गरेर निकै अप्ठ्यारो अवस्था रहेको र लामो समयसम्म सवारी चलाउन गाह्रो हुने जानकारी दिएका छन्। २०५७ सालमा पनि कृष्णभीरले लामो समय दुःख दिएको थियो। बायो-इन्जिनियरिङ प्रविधिबाट पहिरो रोक्ने प्रयास भए पनि अहिले फेरि सडक पूर्ण रूपमा भासिएको छ। चरौदी बजारमा नदीले धार परिवर्तन गरेर ठूलो क्षति पुर्याएको छ।
यो अवस्थामा काठमाडौं आउने-जाने यात्रु र मालवाहक सवारीले वैकल्पिक बाटो प्रयोग गर्नुपर्ने अवस्था सिर्जना भएको छ। सरकार र सरोकारवाला निकायले वैकल्पिक सडक सञ्चालनमा ल्याएर राजधानीलाई अन्य जिल्लासँग जोड्न गम्भीरताका साथ हेर्नुपर्ने आवश्यकता देखिएको छ। तल हाल प्रयोग गर्न सकिने मुख्य वैकल्पिक बाटोहरू र तिनको अवस्था छन्:
१. बाइरोड (नागढुंगा–नौबिसे–दामन–सिमभञ्ज्याङ–भैंसे–हेटौंडा)
नागढुंगाबाट थोरै तल नौबिसेबाट छुट्टिने यो बाटो बोलिचालीमा ‘बाइरोड’ भनिन्छ। करिब १२० किलोमिटरमा भैंसे पुगिन्छ र त्यहाँबाट हेटौंडा जोडिन्छ। सालसिस्नेरी बजार नष्ट भएपछि पूर्व जाने धेरै यात्रुले यसै बाटो प्रयोग गरेका थिए। चितलाङ हुँदै पनि यसमा जोडिन सकिन्छ। बाटो केही पक्की र केही कच्ची तथा साँघुरो छ। जसोतसो ठूला सवारी चल्न सक्छन् तर ठूला सवारी प्रवेश गरे अन्य सवारी घन्टौं जाममा बस्नुपर्ने सम्भावना हुन्छ। अत्यावश्यक सामग्री र ग्यास बुलेट बोकेका ठूला सवारी काठमाडौं पठाउने विषयमा प्रशासनले समन्वय गरिरहेको छ।
२. कान्तिराजपथ (चापागाउँ–भट्टेडाँडा–बागमती खोला–मकवानपुर गढी–हेटौंडा)
चापागाउँ हुँदै भैपार्टी तिरबाट जोडिने यो बाटो करिब ९२ किलोमिटरको यात्रामा हेटौंडा पुर्याउँछ। बाटो धेरै कच्ची छ र बेलाबेला पहिरो जाने हुनाले सोधपुछ गरेर मात्र प्रयोग गर्नुपर्छ। आइतबार ललितपुर खण्डअन्तर्गत भट्टेडाँडा–छबेलीमा पहिरो जाँदा सडक अवरुद्ध भएकाले ठूला सवारी रोकिएका थिए। सडक खुलाउने काम भइरहेको छ। हाल यो बाटो विकल्पका रूपमा कम प्रयोग भइरहेको छ।
३. बल्खु–फर्पिङ–दक्षिणकाली/फाखेल–कुलेखानी–हेटौंडा बाटो
बल्खु हुँदै फर्पिङसम्म पुग्न सकिन्छ। फर्पिङबाट दुई बाटो छुट्टिन्छन्—देब्रे लागे दक्षिणकाली–सिस्नेरी–हेटौंडा र दाहिने लागे फाखेल–कुलेखानी–देउराली–भिमफेदी–भैंसे–हेटौंडा। दक्षिणकालीबाट भैंसेसम्म करिब ७८ किलोमिटर छ। बाटो एकाध ठाउँबाहेक प्रायः पिच छ तर स्तरोन्नतिको क्रममा छ। ठूला तथा मालवाहक सवारी चल्न सक्दैनन् किनकि बाटो साँघुरो छ र ठूला गाडीलाई टर्निङ पुग्दैन। साना र मझौला सवारीका लागि उपयुक्त छ। हेटौंडा–कुलेखानी–काठमाडौं सडक केही ठाउँमा मोडका कारण साँघुरो भए पनि साना/मझौला यातायातका लागि राम्रो अवस्थामा छ। ठूला सवारीका लागि भने बाहिरको बाटो (त्रिभुवन राजपथ) उपयुक्त हुने जिल्ला प्रशासन कार्यालय मकवानपुरले जनाएको छ।
४. बीपी राजमार्ग
२०८१ सालको रोसी खोलाको बाढीले तहसनहस पारेको यो राजमार्ग अहिले पनि कच्ची नै छ। अलिकति पानी पर्नासाथ आवतजावत रोक्नुपर्ने अवस्था हुन्छ। साना र मझौला सवारी आवतजावत गर्न सक्छन् तर रोसी खोला खण्डमा कष्टकर हुन्छ।
हालको व्यावहारिक अवस्था
बाढी-पहिरोका कारण पृथ्वी राजमार्ग अवरुद्ध भएपछि अहिले हेटौंडा हुँदै त्रिभुवन राजपथ र हेटौंडा–कुलेखानी–काठमाडौं सडक मुख्य विकल्पका रूपमा प्रयोग हुन थालेका छन्। यी दुवै सडकको अवस्था अहिले राम्रो छ। कान्तिराजपथमा पहिरोका कारण सीमित प्रयोग भइरहेको छ।
यात्रुहरूले सवारीको आकार (साना/मझौला वा ठूला) अनुसार बाटो छान्नुपर्छ। ठूला मालवाहक र ग्यास बुलेटका लागि प्रशासनको समन्वय अनिवार्य छ। सडकको अवस्था समयअनुसार परिवर्तन हुन सक्ने हुनाले यात्रा गर्नुअघि स्थानीय प्रशासन, ट्राफिक प्रहरी वा सडक विभागसँग सम्पर्क गरेर अद्यावधिक जानकारी लिने सल्लाह दिइन्छ।
काठमाडौंको लाइफलाइन फेरि चल्न थालेसम्म यी वैकल्पिक बाटो नै राजधानीलाई देशसँग जोड्ने मुख्य कडी बन्नेछन्। सरकारले दीर्घकालीन समाधानका लागि कृष्णभीर खण्डको स्थायी मर्मत र वैकल्पिक सडकको स्तरोन्नतिमा जोड दिनुपर्ने देखिन्छ।