बाढीले बगाएको माटो, पहिरोले थिचिएका घर, र बेपत्ता नागरिकको खोजीको पीडा—यी सबैबीच एक समूह युवाहरू कठिन बाटो पार गर्दै हिँडेका थिए। हातमा राहतको बोरा, मनमा सेवाको भावना। राष्ट्रिय युवा संघ नेपाल, धादिङका यी युवाहरूले विपद्को घडीमा देखाएको साहस र समर्पणले धादिङदेखि रसुवासम्मका प्रभावित परिवारहरूको आँसु पुछ्न खोजेको छ।
करिब सात लाख रुपैयाँ बराबरको खाद्यान्न, स्वास्थ्य सामग्री र दुई थान सोलार संकलन गरेर उनीहरू रसुवाको उत्तरगया र कालिका गाउँपालिका पुगे। नीलकण्ठ माध्यमिक विद्यालय, शिवालय प्राथमिक विद्यालय, भीमसेन प्राथमिक विद्यालय र कालिका हिमालयन क्याम्पससम्म पुगेर सामग्री हस्तान्तरण गरे। बाटो जोखिमपूर्ण थियो। बाढीले भत्काएका पुल, हिलोले चिप्लिएका बाटाहरू—तर युवाहरू रोकिएनन्। धादिङको गल्छि बैरेनीमा पनि उनीहरूले राहत पुर्याए।

राहत वितरण मात्र होइन। वितरणपछि उनीहरू सरसफाइ र पुनःस्थापनाको मैदानमा ओर्लिए। बाढीले थुपारेको हिलो, माटो र फोहोर हटाउँदै सार्वजनिक स्थल सफा गरे। श्रमदान गरे। गल्छी क्षेत्रबाट सुरु भएको खोजी अभियान धादिङदेखि रसुवा र चितवनसम्म फैलिएको छ। बेपत्ता नागरिकको खोजीमा उनीहरूले रातदिन खटिरहेका छन्।
यो अभियानको नेतृत्वमा राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय सदस्य तथा बागमती प्रदेश सह–इन्चार्ज दिलीप पौडेल, केन्द्रीय सदस्य तथा युवा संघ धादिङका इन्चार्ज सुनिल तामाङ, थाक्रे अध्यक्ष शम्भु पौडेलसहित धादिङका युवा टोली छन्। उनीहरूको एकै स्वर छ—“विपद्मा हामी सबै एक छौँ, सेवा नै हाम्रो धर्म हो।”
विपद्ले ल्याएको पीडा अझै बाँकी छ। तर यी युवाहरूले देखाएको बाटोले एउटा कुरा स्पष्ट पारेको छ-जब युवाहरू सेवामा उत्रिन्छन्, विपद्को अँध्यारोमा पनि उज्यालो झल्किन थाल्छ। राष्ट्रिय युवा संघ नेपाल, धादिङले यो अभियानलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ। प्रभावित परिवारहरूको आँखामा आशाको झिल्को जगाउने यो प्रयासले समाजलाई फेरि एकपटक सम्झाएको छ-मानवता नै सबैभन्दा ठूलो धर्म हो।