काठमाडौं : तिहार नजिकिँदै गर्दा राजधानीको भृकुटीमण्डप प्रदर्शनी स्थल यस वर्ष फेरि एकपटक फूलको महोत्सव बन्ने भएको छ। नर्सरी व्यवसायी संघ नेपालले ‘चौंथो तिहार फ्लोरा एक्स्पो २०८३’ को आयोजना गर्ने भएको छ।
कार्तिक १७ गतेदेखि २१ गतेसम्म पाँच दिनसम्म चल्ने यस मेलाको नारा नै आकर्षक छ – ‘तिहारको उत्सव, फूलको महोत्सव’।यो मेला केवल फूल बेच्ने ठाउँ मात्र होइन। नर्सरी व्यवसायी संघले स्पष्ट पारेको छ कि नेपालमा नर्सरी र नर्सरी जन्य वस्तुको अत्यधिक परनिर्भरता घटाउँदै स्वदेशी उत्पादन बढाउनु आजको आवश्यकता हो। त्यही आवश्यकतालाई मध्यनजर गर्दै यस वर्ष पनि भृकुटीमण्डपमा यो एक्स्पो आयोजना हुन लागेको हो।मेलामा विभिन्न प्रजातिका फूल फुल्ने र नफुल्ने आलङ्कारिक विरुवा, कृषि तथा वन, जडिबुटी नर्सरी र फलफूल नर्सरीबाट उत्पादित विविध बोटविरुवा प्रदर्शनी र बिक्रीका लागि राखिनेछन्।
मलखाद, अर्गानिक तथा रासायनिक विषादी, बीउबीजन, औजार उपकरण र नयाँ प्रविधिहरूको पनि स्टल रहनेछ। नर्सरी व्यवसाय सुरु गर्न चाहने नवउद्यमी, जिज्ञासु र अनुसन्धानमा संलग्न व्यक्तिहरूका लागि यो मेला एउटा ठूलो साझा मञ्च बन्ने आयोजकको विश्वास छ।व्यवसायीहरूको क्षमता विकास र स्वस्थ प्रतिस्पर्धाका लागि यसपटक पनि विशेष व्यवस्था गरिएको छ।
उत्कृष्ट स्टललाई शिल्ड, नगद र प्रमाणपत्रद्वारा पुरस्कृत गरिनेछ। मूल्यांकनका लागि कृषि बागवानी विज्ञ, वनस्पति विज्ञ र पुष्प विकास केन्द्रका प्रमुखसहितको तीन सदस्यीय समिति गठन गरिसकिएको छ।यस वर्ष मेलामा जम्मा ७३ वटा स्टल रहनेछन्। जसमध्ये ६३ वटा व्यावसायिक स्टल, वनस्पति विभाग र पुष्प विकास केन्द्रसहितका ६ वटा आधिकारिक स्टल र प्रतिस्पर्धाका लागि ४ वटा स्टल छन्।
आयोजकले मेलामा करिब ३५ हजार अवलोकनकर्ता आउने र एक करोड रुपैयाँभन्दा बढीको आर्थिक कारोबार हुने अपेक्षा गरेका छन्।सर्वसाधारणका लागि प्रवेश शुल्क प्रतिव्यक्ति १०० रुपैयाँ तोकिएको छ भने विद्यार्थी र जेष्ठ नागरिकलाई ५० रुपैयाँमा प्रवेश दिइनेछ।हरित अर्थतन्त्र, स्वदेशी उत्पादन र रोजगारी सिर्जनाको सपना बोकेका उद्यमीदेखि साधारण फूलप्रेमीसम्म सबैका लागि यो मेला एउटा विशेष अवसर बन्ने निश्चित छ। तिहारको रंग र फूलको महकले भृकुटीमण्डपलाई यसपटक फेरि एकपटक आकर्षणको केन्द्र बनाउनेछ।