विना कारण पत्रकार पक्राउ किन? प्रधानमन्त्रीलाई थाहा छैन देश आखिर कसरी चलेको छ ?

विना कारण पत्रकार पक्राउ किन?  प्रधानमन्त्रीलाई थाहा छैन देश आखिर कसरी  चलेको छ ?

काठमाडौं : सादा पोसाकका प्रहरी न्यूजरुमभित्र पसेर पत्रकारलाई समातेर लैजान्छन्। पक्राउ पूर्जी देखाउँदैनन्।

‘आईजी साबको आदेश’ भनेर जबरजस्ती गाडीमा हाल्छन्। यो कुनै पञ्चायतकालको कथा होइन। यो २०८३ साल कार्तिक १३ गतेको नेपाल हो। बालेन शाह नेतृत्वको सरकारले ‘परिवर्तन’ र ‘सुशासन’ को नारा दिएको सात महिना नपुग्दै स्वतन्त्र पत्रकारितामाथि यस्तो खुला आक्रमण सुरु भएको छ।

नेपाल प्रेसका अनुभवी सुरक्षा बिटका पत्रकार विश्वमणि सुवेदीलाई नयाँबानेश्वरस्थित आफ्नै समाचार कक्षबाट सादा पोसाकका प्रहरीले नियन्त्रणमा लिए। उनीहरूले कुनै पक्राउ पूर्जी देखाएनन्। सुवेदीले आफैं मोटरसाइकलमा जान्छु भने पनि प्रहरीले मानेन।

त्यही दिन मोटिभेट न्युजका प्रधानसम्पादक शोभराज बराललाई पनि पक्राउ गरियो। नयाँ पत्रिका र दियो पोस्टका कार्यालयमा समेत प्रहरी पुगेर पत्रकार खोज्न थाले। नेपाल प्रेसका प्रधानसम्पादक मातृका पौडेल र अध्यक्ष विन्दु लम्साललाई साइबर ब्युरोमा बोलाइयो।यो सबै के कारणले? प्रहरी महानिरीक्षक दानबहादुर कार्कीलाई सरकारले हटाउने तयारी गरेको र उनी कानुनी परामर्शमा जुटेको समाचार लेखेका कारण।

त्यो समाचारको स्रोत खोज्ने नाममा पत्रकारलाई समाचार कक्षबाटै उठाउने काम भयो। बिचौलिया इनम सापकोटासँग जोडिएको विषयमा समाचार लेख्नेहरूलाई पनि धरपकड गरियो।नेकपाका प्रमुख सचेतक युवराज दुलालले ठीक भनेका छन् — यो स्वतन्त्र पत्रकारितामाथिको राज्य आतंक हो। सरकार र सरकारी निकायका उच्च पदस्थका अनियमितता बाहिर ल्याएकै कारण यस्तो व्यवहार गरिएकोमा नेपाली नागरिकमा कुनै भ्रम छैन।प्रश्न गम्भीर छ।

प्रधानमन्त्री बालेन शाहलाई थाहा छ कि छैन – उहाँको सरकारअन्तर्गत प्रहरीले कसरी काम गरिरहेको छ?

गृह मन्त्रालय कुन दिशामा हिँडिरहेको छ? ‘जेन-जी आन्दोलन’ ले भ्रष्टाचार र पुरानो शैलीको राजनीतिविरुद्ध आवाज उठाएको थियो। त्यही आन्दोलनको जगमा आएको सरकारले अहिले पत्रकारको कलममाथि हतकडी लगाउन थालेको छ भने यसलाई के भन्ने?पक्राउ पूर्जीबिना, अदालतको अनुमतिबिना, समाचार कक्षमै पसेर पत्रकार नियन्त्रणमा लिने काम लोकतान्त्रिक मुलुकमा स्वीकार्य हुँदैन। यसले प्रेस स्वतन्त्रताको मर्ममाथि गम्भीर प्रहार गर्छ। स्रोतको गोपनीयता पत्रकारको मौलिक अधिकार हो।

त्यसलाई उल्लंघन गर्नु भनेको लोकतन्त्रको आधार नै कमजोर पार्नु हो।सरकारले यदि साँच्चै सुशासन चाहन्छ भने पहिले आफ्नो प्रहरी प्रशासनलाई नियन्त्रणमा लिनुपर्छ। पत्रकारलाई धम्क्याएर, पक्राउ गरेर सत्य लुकाउन सकिँदैन। इतिहास साक्षी छ -जति धेरै प्रेसलाई थिच्यो, त्यति नै छिटो सत्ताको अन्त्य भयो।अहिलेको प्रश्न एउटै छ — प्रधानमन्त्री बालेन शाह, तपाईंलाई थाहा छ कि छैन देश आखिर कसरी चलाइएको छ? यदि थाहा छैन भने थाहा पाउनुहोस्। यदि थाहा छ भने यो राज्य आतंक तत्काल रोक्नुहोस्। नत्र जनताले बुझ्नेछन् — नयाँ अनुहारमा पनि पुरानै शैलीको शासन चलिरहेको छ।